काठमाडौं- कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताहरूलाई मुनाफा वितरण गरेको छ।
कोष सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृत गर्दै मुनाफा वितरण गर्ने निर्णय गरेको हो।
कोषले सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई आर्थिक वर्ष २०७९/८० को व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकममा १.१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाको रुपमा वितरण गरेको हो। निर्णय भएसँगै सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्ताको खातामा उक्त रकम जम्मा गरिएको कोषले जनाएको छ।
कोषले आथिक वर्ष २०७९/८० मा सञ्चयकर्तालाई कोष रकमको धितोमा प्रवाह भएको विशेष सापटीमा लगाउने ब्याज र कोष रकममा प्रदान गर्ने ब्याजदरमा १.१० प्रतिशतको फरक रहेकोमा यस मुनाफा विवरण पश्चात सञ्चयकर्तालाई थप ब्याजको भार नपर्ने अवस्था हुन गएको छ। आव २०८०/८१ का लागि कोषमा रहेको रकममा ७.५ प्रतिशतका दरले ब्याज समेत प्रदान भइरहेको छ।
कोषको यो निर्णयसँगै सञ्चयकर्ताले आ.व.२०८०/८१ को सुरु मौज्दातमा ८.६ प्रतिशतको दरले ब्याज प्राप्त गरेका छन्। कोषमा आर्थिक वर्ष २०७९/८० को शुरु मौज्दात ४ खर्ब १६ अर्ब ३६ करोड रहेकोमा उक्त रकमको आधारमा मुनाफा रकम वितरण भएसँगै ४ अर्ब ५८ करोड बराबरको रकम कार्यरत तथा पूर्व सञ्चयकर्ताको करिब ८ लाख ६० हजार खातामा जम्मा गरिएको छ।
कोषले आफ्नै स्रोतबाट स्वास्थ्य उपचार सुबिधा¸ काजकिरिया अनुदान¸ सुत्केरी तथा शिशु स्याहार सुविधा¸ दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुरक्षा सुविधाहरु प्रदान गर्दै आएको छ। कोषले प्रत्येक वर्षको मुनाफाको रकम सञ्चयकर्ताको लागि खडा गरिएका कोषमा जम्मा गरी यस प्रकारका योजना सञ्चालन गर्दै आएको छ।
सामाजिक सुरक्षा योजना सञ्चालनको लागि यस वर्ष मुनाफाको १२ प्रतिशतले हुने रकम ७२ करोड २० लाख रुपैयाँ छुट्याइएको छ। कोषले आफ्ना सदस्यहरुको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल कर्जा¸ जग्गा खरिद सापटी जस्ता सापटी सुविधाहरू समेत कोषबाट उपलब्ध हुँदै आएको छ।
सञ्चयकर्ताको सञ्चित रकममा चक्रबृद्धि ब्याज तथा हरेक वर्ष मुनाफा प्रदान गर्ने गरिएको छ। कोषले आफुसँग भएको वित्तिय स्रोतलाई सञ्चयकर्ताको हितमा अधिकतम प्रयोग गरिरहेको छ। कोषले ११ वटा विभाग तथा ७ वटै प्रदेशमा रहेका ८ वटा शाखा कार्यालय र ३ वटा सेवा केन्द्रहरुमार्फत सेवा प्रवाह गरिरहेको छ।
२०१९ मा स्थापना भएको कोषमा हाल करिब ५ सय १२ अर्बभन्दा बढीको वित्तीय स्रोत विभिन्न क्षेत्रमा परिचालन गरी व्यवस्थापन गरिरहेको छ।