शनिबार, पुस १२, २०८२

सवारी दुर्घटनामा चारको मृत्यु, चारजना मृत फेला

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

काठमाडौं- देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा चारजना मृत फेला परेका छन्।

National life

प्रहरीका अनुसार कपिलवस्तु, शुद्धोधन गाउँपालिका-६ टिटिहिरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मायादेवी गाउँपालिका-३ फुलिका बस्ने ७० वर्षीया बारैती बानियाको आइतबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।

बैतडी, डिलासैनी गाउँपालिका-१ स्थित बसन्तपुर तुफानडाँडामा बर्मबाट सिमारतर्फ जाँदै गरेको सु.प.प्र०१००२ त ४६८६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-१ बस्ने २५ वर्षीय नरेन्द्र प्रसाद भट्टको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहा, लहान नगरपालिका-१८ बसाजोरमा अमहीबाट लहानतर्फ जाँदै गरेको स.१० प २०९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१८ बस्ने १५ वर्षीय जितेन्द्र ठाकुरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो।

पर्सा, जगरनाथपुर गाउँपालिका-४ हुलाकी सडकमा वीरगंजबाट ठोरीतर्फ जाँदै गरेको बिआर २२ क्यू३४४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक भारत पश्चिम चम्पारण घर भएका २० वर्षीय सचिन थारूको मृत्यु भएको छ। आइतबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो।

Laxmi sunrise bank
kumari

मृत फेला
संखुवासभा, पाँचखपन नगरपालिका-१ मुडे बस्‍ने गोबिन्द तामाङको छोरा १४ वर्षीय किशोर तामाङ सोही ठाउँस्थित कुसुवा खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

बाँके, नेपालगंज उपमहानगरपालिका-१ धम्बोझी चोक नजिक सडक छेउको नालामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।

तेह्रथुम, आठराई गाउँपालिका-१ जमदार डाँडास्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५१ वर्षीय नराहाङ लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन्।

सर्लाही, बसवरिया गाउँपालिका-६ मनटोल बस्ने जोगेन्द्र पासवानको छोरा १८ वर्षीय चैनकिशोर पासवान सोही ठाउँस्थित मसालाको बगैचामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित: Apr 22, 2024| 14:20 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्