काठमाडौं- एकीकरण घोषणाको झन्डै पाँच महिनापछि नेकपा स्थायी समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार दिउँसो साढे १ बजे बैठक सुरु भएको छ। यसअघि पार्टी सचिवालयको छोटो बैठक बसेको थियो।
पार्टीभित्रको आन्तरिक विवाद चर्किएका बेला हुन लागेको यो बैठकलाई महत्वका साथ हेरिएको छ। एजेन्डा अझै तय नभएकोले पहिलो दिनको बैठकमा सामान्य छलफल हुने बताइएको छ। स्थायी समितिको एजेन्डाबारे सदस्यहरूलाई जानकारी दिइएको छैन।यसअघि २१ असारमा पहिलो पटक स्थायी समिति बैठक बसेको थियो।
२२ मंसिरमा बालुवाटारमा केन्द्रीय सचिवालय बैठक डाकेर अपमानपूर्वक पर्खाइएको भन्दै चार नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बहिष्कार गरेका थिए। यसले पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई नयाँ मोड दिएको थियो।
आन्तारिक मतभिन्नताको व्यवस्थापन गरेर एकीकरण प्रक्रियालाई टुंगो लगाउन स्थायी समितिमा ठोस् छलफल र निर्णय हुने बताइएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक बोलाएको भन्दै चर्को आलोचना भएपछि आजको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको हो। स्थायी समिति बैठकका एजेन्डा कम्तीमा दुई दिनपहिल्यै जानकारी गराउने पार्टीको नीति भएपनि बैठक बस्ने दिन पनि एजेन्डा बारे स्थायी समितिका सदस्यहरु जानकार छैनन्।
केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने पार्टी एकीकरणसहितका अन्य समसामयिक एजेन्डामा छलफल हुने बताए। सचिवालय बैठकमा एक दर्जन एजेन्डा प्रस्तावित छन्। पार्टीको जिल्ला तथा जनसंगठनहरू एकीकरण, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्यूरो गठन, सरकार र संसद्को कामको समीक्षालगायत एजेन्डा थाती छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४