काठमाडौं- नेपाल टेलिकमको गेटवे पेमेन्ट प्रकरणमा शुक्रबारमात्र दोषी ठहर भएका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्को पनि भ्रष्टाचार मुद्दा लगाएको छ।
पौडेलले लगभग १८ वर्ष सार्वजनिक ओहदामा कार्यरत रहँदा गैरकानुनी रूपले सम्पत्ति कमाएको ठहर गर्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। सुनिलले २३ करोड ७५ लाख ४६ हजार रूपैयाँ गैरकानुनी तरिकाबाट आर्जन गरेको देखिएको छ।
यो मुद्दामा सुनिललाई भ्रष्टाचार निवारण ऐन २०५९ का तीनवटा दफा अनुसार कारबाही गर्न अख्तियारको माग छ। उनलाई अकुत सम्पत्ति कमाएको कसुरमा दफा २० को उपदफा २ अनुसार २ वर्षसम्म कैद र बिगो जत्तिकै जरिवाना तिराउन अख्तियारको माग छ। सुनिलको कसुर स्थापित भए उनले २३ करोड ७५ लाख ४६ हजार जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले गैरकानुनी तरिकाले कमाएको सम्पत्ति जफत हुनेछ।
त्यस्तै, उनले सम्पत्ति विवरण बुझाउँदा झुटो विवरण पेस गरेको अभियोगमा दफा १६ को २ अनुसार एकदेखि तीन महिनासम्म कैद र १० हजार रूपैयाँसम्म जरिवाना तिराउन अख्तियारको माग छ। राष्ट्रसेवकको हैसियतमा रहँदा कसुर गरेको भएकाले उनलाई दफा २४ अनुसार थप सजायको माग पनि गरिएको छ। यो दफाअनुसार उनलाई थप तीन वर्ष कैद माग गरिएको हो।
शुक्रबार विशेष अदालतले उनलाई नेशनल गेटवेको खरिद प्रकरणमा भ्रष्टाचार गरेको ठहर गरेको थियो। उक्त मुद्दामा भने उनलाई कति सजाय सुनाउने भनेर अर्को दिन पेशी तोकिएको छ।