शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • खेतीपातीमा निर्भर दराई समुदायले होमस्टे सञ्चालन गरी लिन थाले आम्दानी

खेतीपातीमा निर्भर दराई समुदायले होमस्टे सञ्चालन गरी लिन थाले आम्दानी

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

मध्यविन्दु- दराई समुदायले होमस्टे सञ्चालन गरेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँको परिचय फेरिएको छ। दराई समुदायको बसोबास रहेको बौदीकाली गाउँपालिका-२ डेढगाउँमा २०७५ सालदेखि होमस्टे सञ्चालन गरिएपछि गाउँको परिचय बदलिएको हो।

National life

जीविकोपार्जनका लागि खेतीपातीमा मात्र निर्भर दराई समुदायले होमस्टे सञ्चालन गरेर आम्दानी लिन थालेका छन्। पाँच घरबाट होमस्टेको सेवा सुरु गरिएको गाउँमा अहिले १० घरले होमस्टे चलाउन पाहुना घर बनाएका छन्। होमस्टेमा अहिले २० जना पाहुनालाई एकैसाथ राख्न सक्ने क्षमता रहेको छ। यस गाउँमा ३५ घरधुरी दराई जातिको बसोबास छ।

कालीगण्डकी नदी किनारमा रहेको दराई बस्तीमा सञ्चालित होमस्टेले दराई जातिको कला संस्कृति प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सामुदायिक होमस्टेका अध्यक्ष कमल दराईले बताए।

'होमस्टे सञ्चालनमा आएपछि अहिले गाउँ पनि सफा र सुन्दर भएको छ, पाहुनालाई स्थानीय परिकार खुवाएर होमस्टेमा राख्छौँ', उनले भने, 'नयाँ नयाँ ठाउँका मानिसको आउजाउ हुन थालेपछि गाउँमा धेरै चिज परिवर्तन भएको छ।'

होमस्टेमा दराई जातिको खानाका परिकारका साथै स्थानीय उत्पादनबाट पाहुनाको रुचि अनुसारका खानेकुरा तयार गरिन्छ। होमस्टेले दराई समुदायका महिलालाई आत्मनिर्भर हुन सिकाएको अध्यक्ष कमल दराईले बताए।

Laxmi sunrise bank
kumari

जिल्लाकै अमलटारी होमस्टे राष्ट्रिय रुपमा स्थापित भएपछि  पहाडी भेगमा सञ्चालन भएको यो दराई होमस्टेले छुट्टै पहिचान बनाएको छ। पछिल्ला वर्षमा दराई सामुदायिक होमस्टेमा पहुनाको आकर्षण बढ्दै गएको व्यवस्थापक सिद्र्धिपूर्णी दराईले जानकारी दिए।

होमस्टेमा आउने पाहुनालाई दराई संस्कार अनुसार फूलको गुच्छा, कलशमा पानी, दियो बालेर स्वागत गर्ने गरिन्छ। साँझमा दराई जातिको कौरा, झ्याउरे लगायतका नृत्य प्रस्तुत गरेर पहुनालाई मनोरञ्जन दिने गरिएको छ।

दराई बस्ती आसपासमा रहेका ऐतिहासिक धार्मिकस्थल, प्रसिद्ध अकला मन्दिर, बालीघाट, हरियाली डाँडा, कालीगण्डकी नदी लगायतका रमणीयस्थलको अवलोकन गर्न सकिन्छ। होमस्टेमा अहिले दैनिक १० जना पाहुना बास बस्ने गरी आउने गरेको होमस्टे सञ्चालक समितिले जनाएको छ। 

दराई समुदायको मुख्य बसोबास नवलपरासी (बर्दघाट सुस्तपूर्व)सँगै तनहुँ, चितवन र गोरखा जिल्लामा छ। विसं २०७८ को जनगणनाअनुसार नेपालमा दराई समुदायको जनसंख्या १८ हजार छ सय ९५ मात्र रहेको छ। रासस

प्रकाशित: Apr 22, 2024| 06:01 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्