काठमाडौं- नेपाली कांग्रेसको बहुप्रतिक्षित महासमिति बैठकको राजधानीमा आज उद्घाटन हुँदैछ। विधानमा हरेक वर्ष महासमिति भेला गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनापछि बैठक आज हुन लागेको हो।
बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भईसकेको छ। महासमिति बैठक सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
महासमिति सुरु हुने दिनसम्म पनि विधानमा मतऐक्य हुन सकेको छैन। शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले पनि विधान मस्यौदालाई अन्तिम रूप दिन सकेन। भेलामा पेश गरिने अन्य चार प्रतिवेदन भने परिमार्जनसहित केन्द्रीय समितिले पारित गरेको छ। मुख्य मानिएको विधानमै किचलो बाँकी छ।
बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशांक कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नेछन्।
जसमध्ये मुख्य मानिएको विधान मस्यौदा प्रतिवेदनमा नै विवाद छ। विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ। अन्य चार प्रतिवेदन भने केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ। विधान मस्यौदामा टुंगो लगाउन महासमिति उद्घाटनपछि केन्द्रीय कार्यसमिति बैठक बस्ने पार्टी प्रवक्ता शर्माले जानकारी दिए।
हिन्दु धर्मको विषय पनि कांग्रेसभित्र बहसको विषय बनेको छ। महामन्त्री शशांक कोइराला नै हिन्दु धर्मको पक्षमा वकालत गरिरहेका छन्। अर्को पक्ष भने इतिहास भइसकेकाले धर्म र राजतन्त्रलाई कांग्रेसले उठाउन नहुने बताएका छन्। यस विषयमा पनि महासमितिमा छलफल हुने देखिन्छ।
विजय गच्छदारबारे पनि कांग्रेसले महासमिति भेलामा निर्णय गराउने तयारी गरेको छ। गच्छदार कांग्रेसमा सहभागी हुँदा पनि केन्द्रीय समितिमा विवाद थियो। महासमिति भेलामा गच्छदारका तर्फबाट कति प्रतिनिधित्व गराउने भन्ने विषयमा पनि समस्या देखिएको थियो। शुक्रबार राति बसेको बैठकले पार्टीका २०० जनालाई महासमिति सदस्य र १५० जना पर्यवेक्षक दिने निर्णय गरेको छ।
कांग्रेसको पछिल्लो महासमिति बैठक ०६९ साल चैतमा नवलपरासीको त्रिवेणीधाममा बसेको थियो। बैठक आगामी पुस ३ गतेसम्म चल्ने छ।
मुलुकका सबै ठूला राजनीतिक क्रान्तिको नेतृत्व गरेको कांग्रेसको यो महासमिति बैठकलाई निकै चासो र महत्वका साथ हेरिएको छ। पार्टीको महाधिवेशन पछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने कांग्रेसजनको अपेक्षा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४