बुधबार, भदौ १०, २०८३

बाँकेमा नौ महिनामा २६५ उद्योग बन्द

 |  आइतबार, वैशाख ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ९, २०८१

राँझा- बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुईसय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन्। 

कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिए।

उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन्। एक सय पाँच उद्योगतर्फ र एक सय ६० वाणिज्यतर्फका फर्म बन्द भएका हुन्। उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी/व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका छन्।

बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका थिए। यस वर्ष गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन्। यस वर्ष चालु आर्थिक वर्षको चैतसम्म नौ महिनाको अवधिमा उद्योगतर्फ चार सय ३४ र वाणिज्यतर्फ तीन सय ७३ गरी आठ सय सात घरेलु तथा साना उद्योग दर्ता भएको सूचना अधिकारीले जानकारी दिए।

बाँकेमा चैत मसान्तसम्म उद्योगतर्फका छ सय ३१ र वाणिज्य फार्म एक हजार एक सय ५० गरी एक हजार सात सय ८१ घरेलु तथा साना उद्योग नविकरण भएका छन्। कोभिड-१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले बताए।

उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन्। कैयौँ उद्योगी व्यवसायी नेपालगञ्जबाट विस्थापित हुन पुगेका छन्।

प्रकाशित: Apr 21, 2024| 08:31 आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्