बुधबार, भदौ १०, २०८३

पनौतीमा पशु खोप अभियान सञ्चालन

 |  आइतबार, वैशाख ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ९, २०८१

काभ्रेपलाञ्चोक– काभ्रेको पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै  पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ। नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो।

पनौती नगरले गाई, भैँसीमा लाग्ने लम्पीस्किन तथा भेडाबाख्रामा लाग्ने पीपीआर रोगविरुद्धको खोप निःशुल्क लगाउने नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाले बताए।

पनौती नगर क्षेत्रभित्रका सम्पूर्ण पशुमा रोग रोकथामका लागि डेढ महिना अभियानको रूपमा किसानका गोठमा गई निःशुल्क खोप लगाइने छ।

बाह्र वडा रहेका नगरमा विभिन्न मितिमा अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ। शाखाले यसअघि सार्वजनिक अपिल गर्दै यस अभियानलाई किसानले साथ दिन र आफूले पालेका निरोगी गाई, भैँसी तथा भेडाबाख्रालाई खोप लगाउन अनुरोध गर्दै आएको थियो।

गत वर्ष नगरले नगरका ९ हजार ९ पशुमा लम्पीस्किन विरुद्धको खोप लगाइएको सापकोटाले जानकारी दिए।

गत वर्ष पनौती नगरमा लम्पीस्किन रोगले महामारीको रूप लिँदा तीन सय किसानका पाँच सय पशु मरेका थिए। पशुचौपाया मरेका किसानलाई २०८० असोजमा प्रतिपशुचौपाया १० हजारका दरले राहत रकम वितरण गरिएको थियो।

जिल्ला पशु सेवा कार्यालयका अनुसार लम्पीस्किनका कारण काभ्रेपलाञ्चोकमा गत वर्ष ३१ हजारभन्दा बढी पशु सङ्क्रमित बनेको जनाएको छ।

यसमध्ये जिल्लाको १३ स्थानीय तहमा ६ सय ८१ पशुचौपाया मरेका थिए। उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसी मरेका हुन्। बनेपा नगरका छवटा वडामा एक सय १८ पशु मरेका थिए।

प्रकाशित: Apr 21, 2024| 08:25 आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्