शनिबार, पुस १२, २०८२

बागलुङमा अवैध औषधि बेच्ने दुई मेडिकल बन्द

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

बागलुङ- बागलुङमा अवैध रुपमा औषधि बेच्ने दुई मेडिकल हल बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय बागलुङ र औषधि विभाग काठमाडौँले आज अनुगमन गर्दा अवैध रुपमा औषधि बिक्री–वितरण गर्ने धौलाश्री मेडिकल हल र बुद्ध डेन्टल होम बन्द गरेको हो। 

National life

अनुगमनका क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका, जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने औषधि बेचबिखन गरेको पाइएपछि दुईवटा मेडिकल बन्द गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताए। 

सम्बन्धित व्यवसायीको अनुपस्थितिमा गैरव्यक्तिले अनाधिकृत रुपमा उपचार गरी औषधि बिक्री–वितरण गरेको, विभागमा दर्ता नभएका औषधि भण्डारण गरी बिक्री–वितरण गरेको, लागू मनोद्विपक औषधिको रेकर्ड नराखेको पाइएपछि औषधि जफत गरी तत्कालका लागि मेडिकल बन्द गरिएको उनको भनाइ छ। 

अनुगमनका क्रममा देखिएका कमजोरीका विषयमा तीन दिनभित्र औषधि व्यवस्था विभागमा सम्बन्धित व्यवसायीलाई कारणसहित उपस्थित हुन लिखित रुपमा अनुरोध गरिएको उपाध्यायले बताए। अनुगमनका क्रममा अस्पताल रोडको बुद्ध डेन्टल होम पनि बन्द गरिएको छ। डेन्टल होम सञ्चालनका लागि आवश्यक पर्ने कागजपत्र फेला नपरेको र सञ्चालकसमेत फेला नपरेकाले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएर डेन्टल होम बन्द गरिएको हो।

प्रकाशित: Apr 19, 2024| 22:01 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्