बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • इजरायलमा बेपत्ता विपिनको परिवारलाई भेटेर के भने प्रधानमन्त्रीले ?

इजरायलमा बेपत्ता विपिनको परिवारलाई भेटेर के भने प्रधानमन्त्रीले ?

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्। भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे।

इजरायल- हमास युद्धका क्रममा अपहरण परेका जोशीको परिवारले रिहाइका लागि विश्व समुदाय समक्ष अपिल गरेको छ।

विपिनका बुबा आनन्द, आमा पद्मा र बहिनी पुष्पा जोशीले हिजो नेपालका लागि इजरायली राजदूत खनान गोडेरलाई भेटेर सकुशल रिहाइको लागि अपिल गरेका हुन्। हमासको नियन्त्रणमा रहेको करिब ७ महिनासम्म विपिनको अवस्था थाहा नहुँदा आफूहरू इन्तु न चिन्तु भएको परिवारका सदस्यको गुनासो छ । 

अन्तर्राष्ट्रिय रेडक्रस, इजरायल र अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक पहल गरेर विपिनलाई सुरक्षित घर फर्काइदिन पनि उनीहरूले आग्रह गरेका छन्। गत असोज २० गते प्यालेष्टिनी लडाकु समूह हमासले इजरायलको अलुममा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको थियो। विपिनलाई भने अपहरण गरेर लगिएको थियो। 

नेपालका लागि इजरायली राजदूत खनान गोडेरले विपिनको रिहाइका लागि आफूले हरसम्भव प्रयास गर्ने आश्वासन दिएका छन्। इजरायलमा कृषि प्रविधि सिक्न पुगेका विपिनसहित विभिन्न देशका १३३ जना अहिले पनि हमासको कब्जामा छन्।

प्रकाशित: Apr 19, 2024| 09:00 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्