नेपाली कांग्रेसको महासमिति बैठक बर्सेनि बस्नुपर्थ्यो, बसेन। दुई वर्षअघि बस्नुपर्ने बैठक बल्ल बस्दैछ। नियमित सञ्चालन भएको भए सभापति शेरबहादुर देउवा कालको यो तेस्रो बैठक हुन्थ्यो। कांग्रेस पार्टी प्रतिबन्धित भएका बेला पञ्चायत कालमा बरु अहिले भन्दा महासमिति बैठक बढी नियमित थियो। बिपी कोइराला सभापति भएका बेला साधन थिएन, स्रोत थिएन तर पनि महासमिति बैठक बस्ने गर्थ्यो।
२०४७ पछि नेपाली कांग्रेस जति साधनस्रोत सम्पन्न हुँदै गयो, त्यति नै महासमिति बैठक अनियमित हुँदै गयो भन्ने चर्चा सर्वत्र छ। महासमिति बैठक बस्नका लागि पार्टीभित्र रहेका गुटउपगुटमध्येको शक्तिशाली समूहले माग गरी दबाब दिनैपर्ने परम्परा २०४७ पछि देखिन थालेको छ।
किन नियमित छैन महासमिति?
निजी स्वार्थभन्दा माथि देशलाई राख्ने हो भने महासमिति नियमित हुन सक्थ्यो। आफ्नो गुटलाई भन्दा पार्टीको समग्र स्वार्थलाई प्राथमिकता दिने हो भने नेपाली कांग्रेसको महासमिति बैठक वर्षको एकपटक बस्न केहीले रोक्ने थिएन। पार्टी सभापति जो हुन्छ उसले आफूलाई निरंकुश राजा भएको नठान्ने हो भने पनि कांग्रेसका ठूला भेला नियमित हुने थिए। आमनागरिक र पार्टी कार्यकर्ताका चासोलाई महत्त्व दिएर सामूहिक स्वार्थलाई शीर्ष स्थानमा राख्ने मनोवृत्ति नेतृत्वमा हुने गरेको भए महासमिति सदस्यका आवाजलाई लिएर पार्टी सञ्चालन गर्ने पद्धति स्थापित हुन्थ्यो होला।
विडम्बना ! म पार्टी सभापति हुँ, मेरा कुरा सबैले मान्नैपर्छ, म नै सर्वेसर्वा हुँ भन्ने मान्यताले स्थान ओगट्दै गयो। प्रजातान्त्रिक पार्टीका नेताले समेत कम्युनिस्ट नेताहरूले भैंm जनता र कार्यकर्ताहरूलाई दाससरह मान्दै जान थाले, अनि ठूला बैठक ओझेलमा पर्दै जान थाले।
यसमा नेतृत्वको मात्रै दोष छैन, कार्यकर्ता पनि त्यत्तिकै दोषी देखिन्छन्। ‘त्वमेव माता च पिता त्वमेव’ भन्दै नेतालाई हजुर नै सर्वेसर्वा भन्दै गए कार्यकर्ताले। कार्यकर्ताहरू ढोकाढोका धाउन थालेपछि कार्यकर्ताहरूको विचार नेताहरूले सुन्न छाडे। आफूले जे गरे पनि कार्यकर्ताका लागि मान्य हुन्छ भन्ने अहं नेतृत्वमा पलाउँदै जान थाल्यो। फलत: यस्ता बैठकहरू नेतृत्वका लागि गौण हुन पुगे।
के हो महासमिति बैठक?
नेपाली कांग्रेसको विद्यमान विधानमा दोस्रो ठूलो निकाय महासमिति हो। महाधिवेशनले पार्टीको आगामी जीवनको चार वर्षका लागि नेतृत्व चयनका साथै पार्टीले अपनाउनुपर्ने कार्य प्रणाली, पद्धति एवं व्यवहारका बारेमा नीति तय गर्दछ। महाधिवेशन नआउँदासम्म पार्टीलाई कार्यदिशा दिनका लागि वर्षको एकपटक महासमिति बैठक बसी निर्देश गर्ने व्यवस्था विधानमा छ। महाधिवेशनले तोकेका कार्यहरू गर्दागर्दै समयाभाव र विविध परिस्थितिले नभ्याए केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्न सकिने प्रावधान विधानमा छ।
अबका दिनमा कम्युनिस्ट अधिनायकवादलाई परास्त गर्न स्वाभिमानी कार्यकर्ताको खाँचो छ। कुनै गुटमा नलागी कांग्रेसको भविष्य सुधार्न तल्लीन हुने व्यक्ति आवश्यक छ। म कुनै नेताको दास होइन, कांग्रेसको सच्चा सिपाही हुँ भन्ने हिम्मत गर्ने महासमिति सदस्यको खाँचो छ।
अचेलको परम्परा हो, प्रायः सबै कार्यसमितिले एक वर्ष थपी पाँचवर्षे समय बिताएका छन्। यसरी कार्यकाल थप्न हुने वा नहुने निर्णय गर्ने पनि यही महासमिति हो। केन्द्रीय कार्य समितिले काम गर्दागर्दै, जनताका सेवामा जुट्दाजुट्दै, पार्टीको छवि निर्माणमा अग्रसर हुँदाहुँदै समय नपुगेको भए समय थप गर्न अनुमति दिने यही महासमितिले नै हो। व्यर्थमा समय खेर फालेर, पार्टीलाई सबल बनाउनुभन्दा धरातलमा पुर्याउन केन्द्रीय समिति तल्लीन भएको अनुभव गरेमा चार वर्षमै अधिवेशन गर्न निर्देशन दिन सक्ने निकाय पनि यही नै हो। समग्रमा भन्नुपर्दा आगामी महाधिवेशनभन्दा अगाडि केन्द्रीय समितिलाई आदेश दिन सक्ने भेला नै महासमिति हो।
के गर्ला त यो महासमितिले ?
देशमा कम्युनिस्ट सरकार छ। कम्युनिस्ट सरकार अधिनायकवादको मार्गमा अग्रसर छ। देशका सबै वैधानिक निकायहरूलाई दन्तहीन बनाउँदै प्रधानमन्त्रीमै सबै अधिकार सीमित गरी निकट भविष्यमै सत्ता कब्जा गर्ने आशय यो सरकारको देखिएको छ। अर्कातर्फ प्रतिपक्षमा रहेको नेपाली कांग्रेस जनताका मनमा रहे पनि संख्याका आधारमा सदनमा कमजोर रहेका कारण कान्तिहीन हुन पुगेको छ। कांग्रेस नेतृत्वको अदूरदर्शी निर्णय, कार्ययोजना र व्यवहारका कारण संवेदनहीन अवस्थामा छ। सरकारको नाङ्गो नाचका विरुद्धमा ‘चूँ’ सम्म नबोल्ने प्रतिपक्षीका रुपमा कांग्रेस दरिएको छ।
इतिहासमा देश र जनताका लागि बलीदानी दिएको कांग्रेस, लोकतन्त्रको पर्याय बनेको कांग्रेस, जनताका सुख दुःखमा अन्तर्घुलित हुँदै आएको भन्ने परिचय बनाएको कांग्रेस आज पहिचान नै नभएजसरी उभिएको छ। यो बेला बस्न लागेको महासमिति बैठकअगाडि थुप्रै चुनौती छन्। ती चुनौती सामना गर्दै नेपाली कांग्रेसलाई सही रणनीतिक कार्ययोजना यही बैठकले दिनैपर्दछ।
गर्नुपर्ने धेरै काम छन्। तात्कालिक, तीनवर्षे, पाँचवर्षे र दीर्घकालिक योजनाहरू तर्जुमा गर्नुपर्नेछ। यसअघिका महासमितिलाई भन्दा यसपटकको महासमितिलाई गहन जिम्मेवारी छ। पञ्चायतकालमा बसेका यस्ता बैठकले संगठनलाई बढाउँदै तानाशाहीविरुद्ध मोर्चाबन्दी गर्ने र देशमा प्रजातन्त्र स्थापना गर्न सक्रिय हुने भन्ने जस्ता निर्णय गरे पुग्थ्यो।
२०४७ सालपछि बसेका बैठकहरूमा गुट उपगुटमा विभाजित भई एकले अर्कोलाई सत्तोसराप गर्दा पनि चलेकै थियो। प्रजातान्त्रिक पार्टीको अर्को विकल्प छैन भन्दै जे गरे पनि कांग्रेसलाई नै पत्याएका थिए जनताले। अहिलेको परिस्थिति आमूल भिन्न छ। कांग्रेस निकै कमजोर छ। जमिनमा धसिएको कांग्रेसलाई माथि उठाउनु छ। त्यसैले महासमिति सदस्यहरूको काँधमा ठूलो जिम्मेवारी छ।
कांग्रेस जनताबाट अलग्गिएको छ। नेता र जनताको सोझो सम्बन्ध गाँस्नका लागि कार्यक्रम तय गर्नैपर्दछ यो बैठकले। बिपीले २०१२ सालमा गरेको समाजवादको भाष्यले आजका युवालाई आकर्षित गर्न सकेको छ कि छैन ? मूल्याङ्कन गर्नु छ। कम्युनिस्टहरू पनि समाजवाद भन्दैछन्, कांग्रेस पनि समाजवाद भन्दैछ। यी दुईको समाजवाद एउटै हो कि फरक छ, आफूले बुझ्ने र अरुलाई बुझाउन योजना बनाउनु छ महासमितिले।
सरकारमा रहँदा विगतमा गरेको कार्यहरूले पार्टीलाई कति फाइदा पुर्यायो, कति घाटा, छलफल गर्नैपर्दछ। राष्ट्र र जनतालाई फाइदा पुर्याएका कार्यक्रम र योजनाहरूलाई निरन्तरता दिने र नकारात्मक प्रभाव परेकालाई परिमार्जन गर्ने रुपरेखा कोर्नु छ। कांग्रेसलाई पुनर्जीवन प्रदान गर्न रणनीतिक योजना तर्जुमा गरेर कार्यान्वयनको प्रस्ट दिशा कोर्नैपर्दछ महासमिति बैठकले।
बढी सम्भावना देउवा, रामचन्द्र, प्रकाशमान, शशाङ्क, सिटौला, शेखर भन्दै गुट उपगुटका नारा चर्काउने नै देखिएको छ। देउवाका यी यी कमजोरी सच्याउनैपर्छ भनेर रामचन्द्रहरूले, रामचन्द्रका यस्ता क्रियाकलापहरू पार्टीका लागि हानिकारक हुन्छ भनेर देउवाहरूले बोल्नै नपाउने, बोलेमा हनुमानहरू उफ्रिने लक्षण देखिएको छ। प्रधानन्यायाधीश प्रकरण, प्रहरी महानिरीक्षकको नियुक्ति जस्ता चुनावका मुखैमा भएका काण्डहरूका बारेमा चर्चा त होला नै।
इतिहासमा देश र जनताका लागि बलीदानी दिएको कांग्रेस, लोकतन्त्रको पर्याय बनेको कांग्रेस, जनताका सुख दुःखमा अन्तर्घुलित हुँदै आएको भन्ने परिचय बनाएको कांग्रेस आज पहिचान नै नभएजसरी उभिएको छ।
भरतपुर महानगरमा किन माओवादीलाई भोट दियौं र पोखरा महानगरमा किन माओवादीको भोट कांग्रेसले प्राप्त गर्न सकेन जस्ता थुप्रै कुराहरूको छलफल हुनैपर्ने हो। कमजोरीलाई आत्मसात् गरेर सच्याउने प्रतिबद्धता व्यक्त गर्दै नेतृत्वले पार्टीलाई मनमुटावरहित बनाउन प्रयास गर्नैपर्नेछ। यसका लागि महासमितिले ठोस निर्णय गर्छ कि गर्दैन हेर्न बाँकी छ।
वैचारिक एवं सांगठनिक नेतृत्व
कांग्रेस विचारबाट जन्मिएको पार्टी हो। सैद्धान्तिक रुपमा नेपालका अन्य दलभन्दा यो पार्टी सबल छ। सिद्धान्तका आधारमा संगठन गर्ने नेतृत्व विगतमा थिए, पार्टी दह्रो थियो। त्यसमा ह्रास आयो, पार्टी कमजोर बन्यो। त्यसैले पार्टीलाई पुनः सबल बनाउन विचारका आधारमा नै संगठन हाँक्नुपर्दछ। पार्टीको सिद्धान्त, आदर्श र तिनले निर्देश गरेका मार्गलाई लत्याएर सत्तालाई एक मात्र अभीष्ट ठान्दा कहिल्यै सफलता हात लाग्दैन। राष्ट्र र जनतालाई केन्द्रमा राखेर पार्टीको आदर्शबमोजिम संगठनलाई अगाडि बढाएमा सत्ता आफंै प्राप्त हुन्छ।
राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै कांग्रेसका आदर्श हुन्। कम्युनिस्टले पनि समाजवाद भनेका कारण अहिले कांग्रेसका केही नेताहरू लोकतान्त्रिक समाजवाद भन्न थालेका छन्। महासमितिको मुखैमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता नवीन्द्रराज जोशीले पुस्तक प्रकाशन गरी कांग्रेसको लोकतान्त्रिक समाजवाद भनेका छन्। पौडेलले लेखेका छन्, ‘स्वतन्त्रता बिना समानता हुन सक्दैन। लोकतान्त्रिक प्रक्रियाबाट स्वतन्त्रता, न्याय र भ्रातृत्व कांग्रेसको समाजवाद हो।’
त्यस्तै जोशीले लोकतान्त्रिक समाजवादको व्याख्या गरेका छन्, ‘लोकतान्त्रिक समाजवादको मान्यता बलियो राष्ट्र, सबै नागरिकको सम्मान हुने र नागरिकको आधारभूत आवश्यकताको व्यवस्थापन गर्न सक्ने राज्य र राष्ट्रियताप्रतिको एकतापूर्ण-संवेदनशील-प्रतिबद्धतापूर्ण-शान्तिपूर्ण लोकतान्त्रिक समाज निर्माण हो।’ समाजवादलाई किन लोकतान्त्रिक समाजवादले पुकार्न थालेका छन् कांग्रेसका नेताहरू ? नेपालमा पहिलोपल्ट समाजवाद शब्द भित्र्याउने बिपी आज समाजवाद कम्युनिस्टको किन ? बिपीले भने भन्दा भिन्न किन व्याख्या गर्नुपर्यो समाजवादको ? उत्तर खोज्नैपर्छ।
समाजवादलाई सरल भाषामा बुझाउँदै बिपीले भन्नुभएको थियो, ‘प्रधानमन्त्रीको जीवनस्तर जुन छ, म नेपाली जनता सबैलाई त्यही स्तरमा जीवन यापन गर्न सक्ने बनाउँछु।’ के यो भन्दा सरल, जनतालाई बुझाउन सक्ने समाजवादका परिभाषा अरू कुनै हुन सक्छ ? शब्दाडम्बरले भरिएका परिभाषा विद्वत्ता प्रदर्शन गर्न काम लाग्छ तर जनताका बीचमा उपयोगी नहुन सक्छ। यो परिभाषा २०१६ सालमा जति मेल खान्थ्यो, अहिले पनि त्यत्तिकै सान्दर्भिक छ र भोलिका दिनमा पनि यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता देखिँदैन। कांग्रेसले लोकतान्त्रिक समाजवाद बुझाउन यही हरफ प्रयोग गर्दा उपयुक्त देखिन्छ र कांग्रेसको राजनीतिक एवं आर्थिक नीतिको मूल मर्म यसैलाई बनाउँदा हुन्छ। हेरौँ, महासमितिले के गर्छ ? नेता प्रदीप गिरीका अनुसार सम्पन्नतासहितको समानता र समानतासहितको सम्पन्नता नै कांग्रेसको समाजवाद हो।
कम्युनिस्टसँग सहकार्य गर्दै सत्तामा बसिरहने नीति नेपाली कांग्रेसको होइन र हुनु हुँदैन। सत्ता कांग्रेसको अभीष्ट होइन, देश र जनताको समृद्धि कांग्रेसको लक्ष्य हो भन्ने नीति तय गर्दै अबका दिनमा पार्टी विचारका आधारमा संगठन गर्छ भन्ने प्रमाणित यो महासमितिले गर्न सक्नुपर्छ।
प्रशिक्षित कार्यकर्ता
अघिल्लो महाधिवेशनका बेला पार्टी कार्यालय, सानेपा पुगेका कांग्रेसका एक क्रियाशील सदस्यले राणाहरूको जहानियाँ शासनविरुद्ध बिगुल फुक्ने जननायक बिपीको तस्बिरलाई देखाउँदै ‘यो दाह्रीवाला ब्रो को हो ?’ भनेको विषयले निकै चर्चा पाएको थियो। कांग्रेसमा अहिले कि ६० नाघेकाहरूको कि त्यस्तै अञ्जान कार्यकर्ताहरूको बाहुल्य छ। महाधिवेशनका बेला चुनाव जित्नका लागि क्रियाशील सदस्यता बाँडिएका सक्रिय कार्यकर्ताहरूको संख्या अधिक छ। तिनलाई पार्टीको सिद्धान्त, आदर्श, चरित्र र लोकतान्त्रिक व्यवहार पद्धतिका बारेमा पत्तै छैन। कांग्रेस र कम्युनिस्टको समाजवादका बारेको त कुरै गर्न परेन।
पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्न सर्वमान्य नेता गणेशमान सिंहले आफ्नै घरमा कांग्रेसको भेला गरेका थिए। आफ्नो सबै सम्पत्ति कांग्रेसका लागि खुला गर्ने सुवर्ण समशेर, पार्टीका लागि सारा जीवन सुम्पेका किसुनजी, गिरिजाबाबु जस्ता नेताहरू कांग्रेसमा थिए भन्ने थाहा नपाउनेको जमातलाई दृष्टिगत गर्दै योजना बनाउन सक्नुपर्छ।
आफ्नै सिद्धान्त, आदर्श नजानेका कार्यकर्ताबाट पार्टी सुदृढीकरणको अपेक्षा राख्नु नितान्त गलत हुन्छ। यो महासमितिले आगामी निर्वाचनमा बहुमत ल्याउने मार्ग तय गर्नैपर्छ, त्यसका लागि सक्रिय हुने कार्यकर्ता प्रशिक्षित हुनैपर्दछ। त्यसैले प्रशिक्षणको कार्यक्रम तर्जुमा गरिन्छ कि गरिन्न भनेर सबैले हेरिरहेका छन्।
स्वाभिमानी कार्यकर्ता
दास मनोवृत्ति भएकाहरूबाट पार्टी दह्रो हुन सक्दैन। सुवर्ण समशेर बनारसमा छँदा एक युवकले म कांग्रेसको सदस्य बन्न चाहन्छु भनेछन्। भरे बेलुका घरमा आउनु भन्नु भएछ। दिएको समयमा ती युवक सुवर्णजीको घरमा गए, सुवर्णजी माथिल्लो तलामा हुनुहुन्थ्यो, घरका सदस्यमार्फत एकछिन कुर्न भन्नु भएछ। ती युवक कुरेको कु¥यै गरे, सुवर्णजी ओर्लनु भएन। भोलिपल्ट बिहान पाँच बजे सुवर्णजी तल आउँदा युवक त्यहीं बसेका रहेछन्।
किन आउनुभयो भन्दा कांग्रेसको सदस्यता लिन भनेछन्। हिजोदेखि यहीं हुनुहुन्छ हैन भन्दा हो भनेछन्। त्यसो भए तपाईं कांग्रेसको सदस्य बन्न सक्नु हुन्न, जानुस् भन्नु भएछ। मैले दिएको समयमा म नआएपछि तपाईंले विद्रोह गर्न सक्नुपथ्र्यो, चुप बस्नुभयो। यस्ता कार्यकर्ताबाट पञ्चायत फाल्न सकिन्न भन्नुभएको थियो रे। के अहिले कांग्रेसमा सुवर्णजीले खोजेजस्ता कार्यकर्ता छन् ? चारतारे झन्डाका कति छन् ? रुख चिह्न बोकेका कति छन् ? दुनियाँले त देउवा कांग्रेस, पौडेल कांग्रेस र सिटौला कांग्रेस मात्रै देखिरहेको छ।
तसर्थ अबका दिनमा कम्युनिस्ट अधिनायकवादलाई परास्त गर्न स्वाभिमानी कार्यकर्ताको खाँचो छ। कुनै गुटमा नलागी कांग्रेसको भविष्य सुधार्न तल्लीन हुने व्यक्ति आवश्यक छ। म कुनै नेताको दास होइन, कांग्रेसको सच्चा सिपाही हुँ भन्ने हिम्मत गर्ने महासमिति सदस्यको खाँचो छ। यो महासमिति बैठकमा तेरो र मेरो भन्दै लडाइँ नलडी कांग्रेसलाई कांग्रेस बनाउन प्रण गर्नुपर्ने छ। नेतृत्वले पनि सबै कार्यकर्तालाई समान दृष्टिले हेर्नैपर्दछ। यसका लागि अब म गुटमा लाग्दिनँ भनेर शपथ लिन सक्लान् यो भेलाका सदस्यहरूले ?
यतिमात्र होइन, नेतृत्व मात्रै होइन, कार्यकर्ताहरूले पनि धेरै गल्ती गरेका छन् विगतमा। कुनै नेताका छोरी जिताए, कुनैका श्रीमती जिताए, कुनैका छोरा, भतिजा जिताए, कुनैका छोरा, सम्धीहरूलाई ठूला ठाउँमा पुर्याएको टुल्टुल्ती हेरेर बसे। पार्टीमा दुःख पाएका पुराना इमान्दारहरूलाई हराउने काम भयो कार्यकर्ताहरूबाट, अर्थात् यिनै महासमिति सदस्यहरू र महाधिवेशन प्रतिनिधिहरूबाट। अब त्यस्तो बेइमानी गर्ने छैनौँ भनी कसम खालान् यी सदस्यहरूले ?
महासमिति बैठकलाई सार्थक बनाउन यस्ता थुप्रै कामहरू गर्नुपर्ने छ। देशको लोकतन्त्रलाई संरक्षण र सम्बद्र्धन गर्ने पार्टी भनेर जनताले पत्याएको पार्टी यही कांग्रेस हो। त्यसैले आशा गरौँ, यो महासमिति बैठकले केही गर्छ कि!
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४