शनिबार, पुस १२, २०८२

सरकार र समुदायको ओत पाएपछि उज्यालिँदै ऐतिहासिक कोत

 |  बिहीबार, वैशाख ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ६, २०८१

म्याग्दी- समुदायको इच्छाशक्ति र सरकारको सहयोग हुने हो भने ऐतिहासिक र सामरिक विरासतका प्राचीन सम्पदा पनि पर्यटकका लागि आकर्षणका केन्द्र बन्न सक्दारहेछन् भन्ने उदाहरण म्याग्दीको ज्यामरुककोटस्थित ऐतिहासिक खड्गभवानी कोत बनेको छ।

National life

तत्कालीन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिकस्थल ज्यामरुकोटस्थित खड्गभवानी कोतको इतिहास १५औँ शताब्दीका थापा राजाहरुसँग जोडिएको छ।

विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ।

करिब छ सय वर्ष पुरानो इतिहास रहेको म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटमा पर्ने तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र खड्गभवानी कोतमा पछिल्लो समय समुदाय र गण्डकी प्रदेश सरकाको पहलमा धमाधम पूर्वाधार निर्माण भएपछि यहाँ पर्यटकहरु आउन थालेका छन्।

विकासको उज्यालोले यो ऐतिहासिकस्थल उज्यालिँदै गएको स्थानीयवासीले बताएका छन्। अहिले यो पुरानो सम्पदाको मौलिकस्वरुप नबिग्रने गरी पुनःनिर्माण गरिने भएको छ। सामरिकस्थलको मौलिकस्वरुप नबिग्रने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ। नगरपालिकाले ऐतिहासिक कोतको मौलिकस्वरुप यथावत् रहनेगरी पुनःनिर्माण गर्नका लागि डीपीआर तयार गरेको बेनी-२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए।

Laxmi sunrise bank
kumari

'पुनः निर्माणका लागि नगरपालिकाले डीपीआर तयार गरेको छ। पालिकाको बजेटले मात्र पुनःनिर्माण सम्भव नहुने भएकाले प्रदेश र संघीय सरकारसँग पनि अनुरोध गर्ने भएका छौँ', वडाध्यक्ष कार्कीले भने, 'ऐतिहासिक कोतको गर्भगृह र अन्य पुरातात्विक सम्पदा यथावत रहनेगरी पुनःनिर्माण गर्नेछौँ।'

खड्गभवानी कोत पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै गएको छ। ज्यामरुककोटको छिमिकी बागलुङको पञ्चकोटमा धार्मिक पर्यटक वृद्धि भएसँगै ऐतिहासिक ज्यामरुककोटमा समेत सकारात्मक प्रभाव परेको वडाध्यक्ष कार्कीले बताए। उनका अनुसार पछिल्लो समय खड्गभवानी कोत परिसरमा विभिन्न पूर्वाधार निर्माण भएका छन्।

समुद्री सतहदेखि एक हजार छ सय ४८ मिटर उचाइमा रहेको करिब छ सय वर्ष पुरानो इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदा पर्यटक र विकाससँग जोडिएका कार्कीको भनाइ छ।

पन्ध्रौँ शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको उनले बताए।

वडाअध्यक्ष  कार्कीका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारसमेत छन्। सदरमुकाम बेनीबजारबाट छ किलोमिटर टाढा रहेको ज्यामरुककोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको उनले जानकारी दिए।

दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ। परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने ब्राह्मण, क्षेत्री र दलित समुदायको बोलिचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको स्थानीय बताउँछन्।

'उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायत नौ वटा हिमशृङ्खला छन्। दक्षिण फर्कँदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य देख्न सकिन्छ। माथितिर गौश्वारा र डोलेको घना जंगल र हरियाली। तल्लोपट्टी बेनी बजारको रमणीय दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ', वडाध्यक्ष कार्कीले भने।

शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुंग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ऐतिहासिक खड्गभवानी कोतको पुनःनिर्माणको तयारी सुरु भएको उनले जानकारी दिए।

समुद्री सतहदेखि एक हजार छ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माण र यातायात तथा सञ्चार लगायतका क्षेत्रमा विकास हुन थालेको छ। १५औँ शताब्दीमा थापाहरूले राज्य गरेको ज्यामरुककोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले गण्डकी प्रदेश, बेनी नगरपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माणमा तीव्रता दिएका छन्।

थापा र मल्लकालीन विरासत बोकेको ऐतिहासिक र पुरातात्विक महत्वलेयुक्त खड्गभवानी कोत परिसरका सम्पदा विकाससँग जोडिन थालेका छन्। बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २१ लाख रूपैयाँको लगानीमा मन्दिरसम्म पुग्ने तीन सय ५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको छ।

यसैगरी बेनी नगरपालिकाले पर्यटनतर्फबाट पाँच लाख र वडा कार्यालयको दुई लाख बजेटबाट कोत परिसरमा दुई सय १० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटांगिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरेको बेनी नगरपालिका-२ का अध्यक्ष यामबहादुर कार्कीले बताए। वडाध्यक्ष कार्कीका अनुसार जिल्लाकै महत्वपूर्ण ऐतिहासिकस्थल खड्गभवानी कोत परिसर पर्यटकीयस्थलको रूपमा परिचित हुँदै गएको छ।

यस ठाउँको महत्व उजागर गरेर प्रचारप्रसार गर्नुका साथै आवश्यक पर्यटकमैत्री पूर्वाधार निर्माण गर्न सकेमा उल्लेख्य पर्यटक आउन सक्ने उनको भनाइ छ। रासस

प्रकाशित: Apr 18, 2024| 11:01 बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्