शनिबार, पुस १२, २०८२

दाङको पर्यटकीयस्थल धारापानीमा चहलपहल

 |  बिहीबार, वैशाख ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ६, २०८१

दाङ- घोराही उपमहानगरपालिका-५ धर्नामा रहेको धारपानीमा पर्यटकीय गतिविधि बढेको छ। पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेपछि यहाँ चहलपहल बढेको हो।

National life

धारापानी घुम्न आएका राजापुर नगरपालिका-३ मुरैयाका शिला आचार्यले साथीहरुमाझ चर्चा चलेकाले घुम्न आएको बताए। 'धारापानीको चर्चा धेरै सुनेकाले घुम्न आएको हुँ, यहाँ आउन पाउँदा निकै खुसी लागेको छ', उनले भने। त्रिशूल, ॐपोखरी मन्दिरभित्र रहेको पार्क रमाउन पाउँदा आनन्द महसुस गरेको उनले सुनाए।

धारापानीमै तुलसीपुर उपमहानगरपालिका-१९ का सविन केसी पनि भेटिए। शनिबारको दिन साथीहरुसँग वनभोजका लागि धारापानी आएको उनले सुनाए। अरुले भनेको र सुनेकोभन्दा आफूले प्रत्यक्ष देख्न पाउँदा निकै फरक हुने भन्दै उनले यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने बताए।

पछिल्लो समय पार्कसहितको पोखरी निर्माणले यहाँको सौन्दर्य बढाएको छ। घोराही बजारदेखि नौ किलोमिटर दक्षिणमा पर्ने धारापानी मन्दिरमा निजी सवारी साधन, सार्वजनिक बस तथा अटोरिक्साबाट सजिल पुग्न सकिन्छ। सो स्थानसम्म पुग्ने सडक पक्की भएकाले स्थानीय र बाह्य पर्यटकको उपस्थितिले चहलपहल  बढेको स्थानीयको भनाइ छ। धारपानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातुको त्रिशूल निर्माण गरिएको छ।

पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउनेको सङ्ख्या बढ्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए। दाङलगायत छिमेकी जिल्लाबाट पर्यटक आउने गरेको उनले सुनाए।

Laxmi sunrise bank
kumari

यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको उनको बुझाइ छ। 'दाङ आउने अधिकांश मानिस धारापानी पुगेको जस्तो लाग्छ', उनले भने, 'वनभोजका लागि यहाँ बाह्रै महिना भीडभाड हुने गरेको छ।'

अग्लो त्रिशूल, १०८ शिवलिंग, १०८ बर पिपल जोडी, १०८ समीका वृक्ष, ॐकुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजंगल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्ने गरेको छ । नजिकै सरयू गंगा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक हजारौँको सङ्ख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउँछ। 

मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले धामदेखि करिब दुई सय किलोमिटर दक्षिण डाँडामाथि सुनकोटमा भगवतीको मन्दिरसम्म पुग्नलाई चार हजार नौ सय ६३ सिँढी बनाउने काम सुरु भएको छ। 

गेट निर्माण, पार्किङको व्यवस्था, सिमसार क्षेत्र, तलाउ, टापु लगायतका संरचना गुरुयोजना अनुसार बनेका छन्। गुरुयोजना दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताए। सुनकोटमा  देवीको मन्दिर तयार गरेर भइसकेको छ। 

धारापानी धामलाई धार्मिक ग्रामका रुपमा विकशित गर्नका लागि दुईवटा खाजा घर, १२ वटा पूजा सामग्री पसल र एउटा कोसेली घर सञ्चालनमा रहेको सचिव आचार्यले जानकारी दिए। रासस

प्रकाशित: Apr 18, 2024| 08:01 बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्