शनिबार, पुस १२, २०८२

एक रूपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

तनहुँ- सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले रु आठ करोडको पुँजी संकलन भएको छ। बन्दीपुर गाउँपालिका-४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल आठ करोड रूपैयाँ जम्मा भएको छ। 

National life

करिब तीन वर्षसम्म समूहले एक, दुई, दश, बीस, पचास रूपैयाँ र एक सय रूपैयाँका दरले क्रमिक रुपमा बचत गर्दै आएको थियो। विसं २०५४ सालमा समूहले सहकारी सञ्चालन गर्ने निर्णय अनुरुप मर्स्याङ्दी आमा बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए। 

आमा समूहले बचत गर्दै आएको पैसाले सहकारी सञ्चालन गरेपछि अहिले संस्थाको पुँजी आठ करोडभन्दा बढी पुगेको हो।

महिलाले सञ्चालनमा ल्याएको उक्त सहकारी गाउँपालिकामै नमुना र अनुकरणीय गर्न योग्य रहेको संस्थाकी लेखा संयोजक बबिता थापाले बताइन्। अहिले सहकारी संस्थामा आठ सयभन्दा बढी सेयर सदस्य छन्। उनले भनिन्, 'सुरुमा एक रुपैयाँ बचत गर्ने महिलाले अहिले मासिक एक हजार पाँच सय रूपैयाँसम्म जम्मा गर्न थालेका छन्।'

सहकारी संस्थामा कार्यरत सबै कर्मचारी महिला छन् भने लेखा समिति, शिक्षा उपसमिति, ऋण उपसमिति, धितो मूल्यांकन समिति लगायतमा महिलाले नै नेतृत्व गर्दै आएका छन्। धितो राखेर रु पन्ध्र लाखसम्म ऋण दिन सक्ने अवस्थामा सहकारी पुगेको संस्थाकी अध्यक्ष बास्ना कुमारी मगरले बताइन्। सहकारीले कृषि र उच्च शिक्षा पढ्नका लागि शिक्षा धितोमा १२ प्रतिशत र अन्य शीर्षकका कर्जामा १४ प्रतिशत ब्याज निर्धारण गरिएको छ।

Laxmi sunrise bank
kumari

गाईपालन, तरकारी, धूप तालिम र घरबास सञ्चालन लगायतमा लगानी गर्ने गरिएको सो संस्थाले जनाएको छ। संस्थाको आफ्नै भवन रहेको छ। तत्कालीन समयमा एक लाख ४६ हजार रूपैयाँमा जग्गा खरिद गरी केही नगद खर्च र श्रमदानबाट भवन निर्माण गरिएको लेखा संयोजक थापाले बताए।

वडामा रहेका आमा समूहले सामाजिक क्रियाकलाप विवाह, व्रतबन्धलगायतका कार्यमा सक्रिय हुँदै आएको छ भने वडाभित्र सीमित रहेको सहकारी संस्थालाई पालिका तहसम्म क्षेत्र विस्तार गरिएको छ। आगामी दिनमा सहकारीलाई गण्डकी प्रदेशस्तरमा लैजाने लगायतका योजना बनाइएको अध्यक्ष मगरले जानकारी दिइन्। रासस

प्रकाशित: Apr 16, 2024| 21:01 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्