हुम्ला- हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लामा बासिन्दा जाडो छल्न् जिल्ला बाहिर जान थालेका छन्।
मङ्सिर, पुस, माघमा बढी चिसो हुने हुँदा यहाँका बासिन्दा चिसो छल्न जिल्ला बाहिर सर्ने गर्छन्। जाडोयाममा हिउँसँग खेल्न र रमाउन पाइने भएकाले चिसो मौसममा केही पर्यटक भने आउने गर्दछन्।
स्थानीयवासी बासबहादुर भण्डारीका अनुसार पर्यटकीय यामको अन्त्यसँगै जिल्लाका होटल व्यवसायी जाडो छल्न जिल्ला बाहिर जाने गरेको बताए। हुम्लाका स्थानीयवासी जाडो छल्न काठमाडौं, नेपालगञ्ज, सुर्खेत, पोखरालगायतका शहरमा जानको लागि टिकट लिन आउनेको सङ्ख्या धेरै भएको समिट एयरका कर्मचारी कमल भण्डारीले बताए।
विद्यालयको अन्तिम परीक्षा सकाएर शिक्षक र विद्यार्थी पनि बिदा मनाउन जिल्ला बाहिर जाने तयारीमा रहेका मानसारोवर माध्यामिक विद्यालयका शिक्षक रेशमराज रोकायाले बताउनुभयो।वार्षिक परीक्षा दिने विद्यार्थीलाई समेत हिमपात हुँदा समस्या भएको शिक्षक रोकायाले गुनासो गरे।
उच्च हिमाली भेगबाट भेडाबाख्रा र चौरी बेँसी सार्नुका साथै चिसो कम हुने ठाउँमा राख्ने चलन छ। माथिल्ला भेगमा रहेका खर्कबाट घरपालुवा पशु जिल्लाको दक्षिण भेगमा लिनुका साथै जिल्ला लिने गर्दछन्।हुम्लामा अबको तीन महीना माथिल्लो भेगमा हिउँ बढी पर्ने गर्दछ अति जाडो हुन्छ, घरमा घाँस समेत पूरै हिउँले ढाकिन्छ।
मंसिर, पुस र माघमा हिमपात हुने भएकाले स्थानीयवासी चिसो मौसम शुरु अगावै दाउरा सङ्कलनमा जाने गर्दछन्। होटल व्यवसायीले कामदार लगाएर दाउरा सङ्कलन गर्ने गरेको सिमकोट बजारमा होटल व्यवसाय गर्दै आएका फुञ्जोक लामाले बताउनुभयो।लामाका अनुसार गाउँबाट बिक्री गर्न ल्याएका दाउरा एक भारीको सात सयदेखि एक हजारमा खरीद गर्ने गरेको व्यवसायी लामाले बताए।
जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ सस्थामा काम गर्ने कर्मचारी चिसो छल्न कोही जिल्ला बाहिर जाने गर्दछन् भने जिल्लामा कार्यरत रहेका कर्मचारीले एक भारी दाउराको एक हजारसम्मको मूल्य तिरेर खरीद गर्ने सूचना अधिकारी शाहीको भनाइ छ।
स्थानीयवासी तथा कर्मचारीले आफ्नो उपयोगका लागि दाउरा सङ्कलन गर्नका लागि खासै समस्या हुने देखिँदैन।कर्मचारीले जाडो मौसममा चर्को मूल्य तिरेर खरीद गर्ने गरेको उनले बताए।
हुम्लाका उत्तरी नाम्खा गाउँपालिका-६ का स्थानीय बासिन्दा अत्याधिक चिसो बढेसँगै जाडो छल्न गाउँ छोडी शहरतिर झर्न थालेका छन्।चीनको सीमा जोडिएको हिमालपारि तिल, हल्जी र जाङ गरी तीन बस्ती अत्याधिक चिसो बढेपछि गाउँ छोडेर बालबालिकासहित शहर झरेका छन्।
हुम्लामा हिउँ नपर्दै गाउँ छोडेर अन्यत्र हिँडेका लिमीका स्थानीय बासिन्दा २०७६ को वैशाख महीनामा मात्रै घर फर्कने मिगुर लामाले बताए।
स्थानीयवासीका अनुसार बौद्ध धर्मलम्बीको मात्रै बसोवास रहेको लिमी गाउँमा कम खेतीयोग्य जमीन रहेको र रोजगारको विकल्प नभएपछि स्थानीयवासी हिउँदको समय शहर गएर वैशाख महीनामा मात्रै गाउँ फर्कने गरेको सोही नाम्खा गाउँ निवासी नाम्गेल तामाङले बताए।
लिमीका अधिकांश बालबालिका काठमाडौँका विद्यालयमा अध्ययन गर्ने र कतिपय बालबालिका भारत तथा नेपालका विभिन्न गुम्बामा धार्मिक शिक्षाका लागि पठाउने चलन रहेको तामाङको भनाइ छ। हिउँदको समय कुनै पनि काम नहुने र हिमपात हुने भएपछि बालबालिकासँग भेटघाट र बौद्ध गुम्बा दर्शन गर्न शहर झर्ने गरिएको पनि उहाँको भनाइ छ।
हिउँदका समय गाउँमा वृद्धवृद्धा र गुम्बमा पूजारी मात्रै बस्ने गरेको पाइएको छ।लिमीको हल्जी गाउँ ८२ घरधुरी छन्।नाम्खा गाउँपालिका-६ वडाका अध्यक्ष पाल्जोर तामाङ यही गाउँका बासिन्दा हुन्।यो वर्ष हिउँ नपर्दै वडाध्यक्षसहित गाउँका आधाभन्दा बढी घरधुरीका बासिन्दाले गाउँ छोडिसकेको अध्यक्ष तामाङले बताए।
उत्तरी नाम्खा गाउँपालिका-६ का स्थानीयवासी काठमाडौँ जान पाँच हजार ३०० मिटर उचाइको लेक पार गरी चार दिन पैदल हिँडेर सिमकोट पुगेको वडाध्यक्ष तामाङले बताए।
'हिउँदको समय गाउँमा कुनै काम नहुने फुर्सदको समय भएकाले विद्यालय तथा गुम्बामा अध्ययनरत आफ्ना बालबालिका भेटघाट र गुम्बा दर्शन् गर्न झरेका हौं’, उनले भने, “अब हामी आगामी वैशाख महीनामा मात्रै घर फर्कने छौँ ।” जाङ गाउँमा ३७ घर धुरीमध्ये ३० परिवारका सदस्यले गाउँ छोडेर शहर गएको तामाङको भनाइ छ।घरमा बुढाबुढी र कसै–कसैको घरमा बच्चा मात्रै रहेको पनि उनले बताए।
काठमाडौं जानका लागि सिमकोट पुगेकी लिमीको तिलगाउँ निवासी फुटी लामाले आफू बच्चा भेट्न र गुम्बा दर्शन गर्न काडमाडौंमा जान लागेको बताउनुभयो।गाउँबाट उनीसहित छ जनाको समूह तिलगाउँका २७ घरघुरी धेरैजसो गाउँ छोडेर गइसकेका छन्। ‘कतिपयले सानानानी सहित बोकेर गएका छन्’’ उनले भने।
घर छोड्नुभन्दा पहिले घरमा बस्नेका लागि खाद्य सामग्री र मासुदेखि दाउरा समेतको जोहो घरभित्रै गर्नुपर्दछ।हिउँदमा हिउँ पर्दा घर पूरै हिउँले छोप्ने भएकाले दाउरा समेत घरभित्रै राख्न बाध्य भएका हुन्।
गोठभित्र थुनिने पशुका लागि घाँसको जोहो पनि घरभित्रै गर्नुपर्ने हुन्छ। यहाँका बासिन्दा चीनको तिब्बती बजारमा निर्भर रहँदै आएका छन्। हिउँदका लागि खाद्य सामग्री तथा लत्ता कपडा तिब्बती बजारबाटै खरीद गरी मौज्दात राख्ने गरेका छन्। हिउँदको समयमा लिमीमा रहेको जनपद प्रहरी चौकी पनि सदरमुकाम सिमकोट सार्ने गरिएको छ।
लिमी गाउँबाट सदरमुकाम सिमकोट आवतजावत गर्न चलनचल्तीका दुई वटा मार्ग छन्।एउटा चार हजार तीन सय मिटर उचाइको नारा लेक पार गर्दै हिल्सा भएर तिल हुँदै अन्तिम गाउँ जाङ पुग्ने गरिन्छ, भने अर्को उस्तै पाँच हजार ३०० मिटर उचाइको न्यालु लेक पार गरी जाङ गाउँ हुँदै तिल पुग्ने गरिन्छ।दुबै मार्ग प्रयोग गर्दा कहालीलाग्दो उकाली र ओराली पार गर्नुपर्ने बाध्यता छ।
भौगोलिक कठिनाइका कारण स–साना कामका लागि गाउँ छोड्दैनन्।लिमीका तीनवटै बस्तीमा एक–एक वटा टेलिफोनको सुविधा भए पनि मोबाइल सेवा सञ्चालनमा छैन्।हुम्लामा चिसो बढेसँगै यहाँका गाउँघर सुनसान र रित्तो हुने क्रम बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४