शनिबार, पुस १२, २०८२

कालोपत्रे उप्किएपछि जोखिमपूर्ण यात्रा

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–बुर्तिबाङ सडकमा कालोपत्र उप्किएपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

National life

बागलुङ बजारदेखि घोडाबाँधेसम्मको करिब १२ किलोमिटर सडक वर्षौंदेखि स्तरोन्नती हुनसकेको छैन। कालोपत्र गरिएको सडक उप्किएर हिलाम्मे र धुलाम्मे बनेको छ। घोडाबाँधेदेखि बुर्तिबाङसम्म सडकको बीच भागबाट कालोपत्र उप्किएर ठूला–ठूला खाल्डा परेका छन्।

दैनिक सयौँको संख्यामा गुड्ने सवारीसाधन सडकको खाल्डोमा गाडी फसेर ट्राफिकजाम हुने गरेको छ। विशेषगरी बडिगाड र गलकोट खण्डमा सबैभन्दा धेरै कालोपत्र उप्किएको छ। खाल्डोमा टायर अड्किँदा घण्टौँसम्म रोकिनुपर्ने सवारीचालक मीनबहादुर सुनारले बताए।

दुई वर्षदेखि सडकमा खाल्डाखुल्डी पर्न थाले पनि अहिलेसम्म मर्मत नहुँदा सडक कुरूप बन्दै गएको उनको भनाइ छ। “कालोपत्र गरेको सडकको खाल्डाखुल्डीमा भन्दा कच्ची सडकमै यात्रा गर्न ठीक हुन्छ, दुई/दुई पाइलामा खाल्डा छन्, गाडीको टायर तर्काउनै सकिन्न,” उनले भने।

सडकका कारण दैनिक मोटरसाइकल दुर्घटना हुने स्थानीय प्रेमबहादुर पुनले बताए। मोटरसाइकल चालक तीव्र गतिमा आउने र खाल्डा नदेख्दा उछिट्टिएर लड्ने गरेको उनले बताए।

Laxmi sunrise bank
kumari

“यो राष्ट्रिय लोकमार्ग हो, सडक बिग्रिएको यतिका समय बित्दा मर्मत हुँदैन,” पुनले भने, “यो बाटोमा दिनदिनै मान्छे लड्छन्, कोहीले बाइक लडाउँछन्, गाडी नै बिग्रार्छन्, मान्छे नलडेको दिन छैन।”

सोही लोकमार्गकै बागलुङ–घोडाबाँधे खण्ड २५ वर्षअघि ट्र्याक खुले पनि हालसम्म कालोपत्र भएको छैन। हिउँदमा धुलो र बर्खामा हिलोले यात्रुले सास्ती भोग्दै आएका छन्।

लोकमार्ग कार्यालयले उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले काम नगरेपछि माथिल्लो खण्डको ठेक्का तोडेको छ। तल्लो खण्डमा सुस्त गतिमा काम भइरहेको छ।

मध्यपहाडी लोकमार्ग कार्यालयका इन्जिनियर उज्वल शर्माले मर्मत सम्भारका लागि दुई वर्षअगाडि ठेक्का लगाइ काम भइरहेको बताए। उप्किएको लोकमार्गको कालोपत्र मर्मतको काम थालिएको उनको भनाइ छ।

घोडाबाँधेदेखि बुर्तिबाङसम्म तीन खण्डमा निर्माण कम्पनीले मर्मतको जिम्मा लिएको शर्माले बताए। आगामी असार मसान्तसम्म खाल्डाखुल्डी पुरिसक्ने उनको भनाइ छ। हालसम्म ७९ प्रतिशत मर्मतको काम सकिएको छ।

प्रकाशित: Apr 15, 2024| 21:31 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्