शुक्रबार, वैशाख २१, २०८१

फोहोर वाहन भित्रिएपछि टीकापुर सफा

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

टीकापुर- कैलालीको टीकापुरमा फोहरवाहन भित्रिएपछि आजभोलि बजार क्षेत्र सफा देखिन थालेको छ। फोहरवाहन भित्रिएसँगै पालिकाले दैनिक फोहर संकलनलाई तीव्रता दिएपछि नगर सफा देखिन थालेको स्थानीय बताउँछन्।

triton college

नगरपालिकाले एकाबिहानै सरसफाइसम्बन्धी सन्देश बजाउँदै बजार क्षेत्रमा फोहर संकलन गर्ने गरेको छ। नगरपालिकाको फोहर वाहन फोहर बोक्न आउँदा ‘सरसफाइ गरौँ’ भन्ने सन्देशमूलक गीत बजाउँदै आउने गरेको स्थानीय गणेश चौधरीले बताए। टीकापुर बजार क्षेत्रमा दैनिक पाँच ट्रली फोहर संकलन हुने गरेको छ।

फोहर संकलनका लागि नगरपालिकामा नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत गत वर्ष नै ‘गारबेज कम्प्याक्टर मेसिन’ (फोहर बोक्ने मेसिनसहितको वाहन) समेत प्राप्त भएको छ। उक्त मेसिन सुदूरपश्चिममै ठूलो रहेको नगरपालिका कार्यालयले जनाएको छ। पालिकाभित्र फोहर संकलन गर्न दुई वटा ट्रली र एउटा फोहर वाहन दैनिक प्रयोग हुने गरेको छ। साथै १४ जना सरसफाइकर्मी दैनिक सरसफाइमा जुट्ने गरेका छन्। 

'बिहान ५ बजेदेखि सरसफाइ सुरु गर्छौँ, नगरवासीले डस्टविन (फोहर फाल्ने भाडो)मा फोहर राखिदिएमा सहज हुने थियो', सरसफाइकर्मी कालुराम डगौँरा थारुले भने, 'फरकफरक खालका फोहर फरक भाँडोमा राखिदिएमा हामीलाई सजिलो हुने थियो। नगरवासीले सबैखाले फोहर एउटै डस्टविनमा राख्ने गर्नुहुन्छ।'

विगतमा बजार क्षेत्रमा मात्र सरसफाइ गरिने गरिएको थियो। हाल सेवा विस्तार गरी वडा नं १ का केही ब्लक, वडा नं ५ को टीकापुर पार्क रोड, वडा नं २, वडा नं ३ का बजार क्षेत्रमा समेत सरसफाइ गर्न थालिएको डगौँराले जानकारी दिए।

corrent noodles
Metro Mart

सरसफाइकर्मी सञ्जु कुश्मीले हरेक दिन बिहान ६ घण्टा सरसफाइमा खट्ने गरेको बताए। 'सरसफाइ गर्दा चोटपटक लाग्ने, कहिलेकाहीँ सुई (सिरिन्ज), सिसाले काट्ने डर हुन्छ', उनले भने, 'फोहरमा काम गर्दा विभिन्न रोग लाग्ने, चोटपटक लाग्ने भएकाले पालिकाले स्वास्थ्य बीमा गरिदिनुपर्ने माग गरिरहेका छौँ।'

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्द्धन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ जारी गरी देशका विभिन्न पालिकामा उक्त कार्यक्रम लागु गरेको हो।

पहिलो वर्ष टीकापुरसहित सुदूरपश्चिमका चार पालिका छनोटमा परेका छन्। टीकापुरमा फोहर व्यवस्थापन र गौशालामा ग्यास उत्पादनमा लगानी गरिएको नगरपालिकाका इञ्जिनियर नवराज जोशीले बताए। 'हामीले नवप्रवर्द्धन कार्यक्रममार्फत प्रदेश सरकार र स्थानीय तह मिलेर सरसफाइका क्षेत्रमा लगानी गर्‍यौँ', उनले भने, 'नगर सफा राख्न र वडा नं २ मा रहेको गौशाला व्यवस्थापन, गोबरबाट ग्यास उत्पादन, गोबर मल उत्पादनमा समेत लगानी गरेका छौँ।'

नवीनतम सोच, अवधारणा, लगानीको ढाँचा र प्रविधिका माध्यमबाट फरक तरिकाले उद्यमशीलता, सीप विकास, वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा यस कार्यक्रमले सहयोग गर्ने इन्जिनियर जोशीको भनाइ छ।

नगरपालिकालाई फोहर संकलनमा समस्या नभएको भन्दै व्यवस्थापन तथा फोहर फाल्ने ठाउँको केही समस्या रहेको नगरपालिकाका सरसफाइ उपशाखा प्रमुख लोकबहादुर बुढाले बताए। हाल अस्थायीरुपमा फोहर व्यवस्थापन गरिँदै आएको उनको भनाइ छ।

कार्यपालिकाले टीकापुर नर्सरीको १० कठ्ठा जमिनमा ल्याण्डफिलसाइट बनाउने निर्णयसँगै बजेट व्यवस्था गरेकाले केही सहज हुने बुढाले बताए। 'अहिलेसम्म संकलित फोहर व्यवस्थापनमा समस्या छ', उनले भने, 'केही दिनअघिको कार्यपालिका बैठकले ठाउँ र बजेट व्यवस्था गरेको छ। अब फोहर व्यवस्थापनमासमेत सहज हुनेछ।' रासस

प्रकाशित: Apr 15, 2024| 18:01 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्