मंगलबार, वैशाख १८, २०८१

तेमाल बृहत् खानेपानी आयोजना अझै लम्बिने संकेत

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

काभ्रे- काभ्रेपलाञ्चोकको तेमालमा निर्माणाधीन बृहत् खानेपानी आयोजनामा सडक निर्माणका कारण क्षति पुगेको छ। सो आयोजनामा करिब ५० लाख रूपैयाँ बराबरको क्षति पुगेको उपभोक्ता समितिले जनाएको छ। 

triton college

विसं २०७९ को चैत महिनाभित्र उक्त क्षेत्रका ५५ हजार स्थानीयलाई लक्षित गरी आयोजना सुरु गरिएको थियो। स्थानीयका घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन उद्देश्यले सुरु भएको आयोजनाको गति कोरोना महामारी र प्राकृतिक प्रकोपका कारणले सुस्त भएको थियो।

नमोबुद्धको भकुण्डेदेखि तेमाल हुँदै मेच्छे जोड्ने सडक निर्माणका कारण आयोजनाको विस्तारित पाइपलगायत केही भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ। विभिन्न सडक निर्माण आयोजनाका कारण विभिन्न स्थानमा पाइपलगायत सामग्रीमा क्षति पुगेको उपभोक्ता समितिको अध्यक्ष सङ्ग्रामजित लामाले बताए।

'सडक निर्माणका कारण केही स्थानमा जीआई पाइपसमेत गरी करिब ५० लाख रूपैयाँको खानेपानीका सामग्रीमा क्षति पुर्‍याइएको प्रारम्भिक अनुमान गरिएको छ, प्राविधिकले क्षतिको विवरण संकलन गर्दै हुनुहुन्छ', उनले भने।

उनका अनुसार खानेपानी आयोजना सञ्चालन भएको तेमाल गाउँपालिका र केही क्षेत्र समेटिएको नमोबुद्ध नगरपालिकामा समितिले पत्रद्वारा क्षतिको जानकारी गराइएको छ।

corrent noodles
Metro Mart

समयसीमाभित्र उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको भन्दै यसवर्ष पनि आयोजना लम्ब्याएको छ। उक्त आयोजना आठ वर्षअघि कालिका-सीएबी जेभी निर्माण कम्पनीले ठेक्का लिएको थियो। खानेपानी मन्त्रालयबाट करिब पाँच करोड रूपैयाँ भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणमा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ।

भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवार व्यक्तिले सम्पन्न गर्नेतर्फ आलटाल गर्दा समय लम्बिएकाले मन्त्रालयमा ताकेता भइरहेको लामाले बताए। उनका अनुसार तेमालको वडा नं २ र ३ मा केही धारा जडान तथा पानी कन्ट्रोलका सामग्री जडानको काम बाँकी छ।

समितिले गत कात्तिक मसान्तसम्ममा काम सक्न आयोजनालाई भने पनि आलटाल गरिएको हो। आयोजनालाई कोरोनाको दुई लहर र गत साल साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्‍याउँदा उक्त आयोजना करिब एकवर्ष धकेलिएको थियो। लामाले आयोजनाको काम अन्तिम चरणमा पुगेको अर्थात् करिब ९८ प्रतिशत काम सकिएको बताए।

आयोजनाको पानी प्रशोधनको काम भएको छ, भने करिब तीन हजार पाँच सय उपभोक्तालाई घरमा पानी पुर्‍याइसकिएको लामाले बताए। उनका अनुसार २३ वट ट्यांकीमा पानी परीक्षण भइसकेको छ भने मुख्यलाइन र शाखा लाइनमा पाइप बिछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण भइरहेको छ। साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्यांकीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ।

उक्त आयोजनाले नमोबुद्ध नगरपालिका-५ कोटतेमाल र कालीमाटीका करिब नौ सय घर तथा रोशी गाउँपालिका-७ कटुञ्जेस्थित एक सय दश घरपरिवार समेटेको छ। तेमाल क्षेत्रका नौ हजार तीन सय दश परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो। पाइपको मुख्य लाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौता अनुसार काम भएको छ। आयोजनाका लागि पाँच करोड रूपैयाँ बराबरको जनश्रमदान भएको लामाले बताए।

याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई मुख्य ट्यांकी निर्माण गरिएको छ। आयोजनाको छुट भएका केही निर्माणको काम गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट गत पुसमा १० करोड ३४ लाख ४१ हजार रूपैयाँ उपलब्ध भएपछि थप निर्माण काम भएको छ। उक्त आयोजना सम्पन्न भएपछि तेमाल क्षेत्रका ५५ हजार स्थानीयमा खानेपानी उपलब्ध हुनेछ।

लिफ्टिङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदी किनारमा छ। गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका-२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीका कटान गरेको थियो। 

त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पुर्‍याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्यांकको जोखिमलाई सुरक्षित गरिएको छ। लामाका अनुसार बाढीले त्यतिबेला आयोजनाको ६० लाख रूपैयाँभन्दा बढी क्षति पुर्‍याएको थियो भने करोडौँका संरचनालाई जोखिम पुर्‍याएको थियो। तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वटा वडा, नमोबुद्धको तीन वटा वडा तथा रोशी गाउँपालिकाको सात नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन्। 

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम २०७८ मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो। नेपाल सरकार, खानेपानी विभागमार्फत एक अर्ब २७ करोड रूपैयाँ, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन्। 

प्रकाशित: Apr 15, 2024| 21:01 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्