काठमाडौं- इजरायलका विभिन्न क्षेत्रमा भएको ड्रोन आक्रमणबाट नेपाली नागरिक सुरक्षित रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। नेपाली नागरिकलाई कुनै असर नपरेको र सबै नेपाली सकुशल रहेको दूतावासले स्पष्ट पारेको छ।
“इरानले गरेको आक्रमणबाट यहाँ बसोवास गर्ने नेपाली नागरिकलाई कुनै असर नपरेको र सबै नेपाली सकुशल अवस्थामा रहनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,” दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आइतबार इजरायलका विभिन्न स्थानमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो। इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको थियो।
इजरायलमा हाल चार हजार ५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन्। केही विद्यार्थी पनि इजरायलमा अध्ययन गरिरहेका छन्।
गएको असोजमा इजरायलमाथि लडाकु समूह हमासले आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिएका थिए। त्यतिबेला सरकारले इजरायलमा रहेकामध्ये साढे २०० भन्दा बढी नेपालीलाई उद्धार गरी ल्याएको थियो।