बिहीबार, असार १९, २०८२

'कम सिट ल्याएर ठूला दललाई तर्साउन पाइँदैन'

 |  आइतबार, वैशाख २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग निर्वाचन सम्बन्धी कानुन संशोधनको प्रस्ताव राखेका छन्। थापाले निर्वाचनमा कम सिट प्राप्त गर्ने तर ठूला दललाई तर्साउने शक्तिको अन्त्यका लागि संविधान वा राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्नुपर्ने विकल्प रहेको बताएका हुन्।

दोस्रो चरणको संवाद यात्राको तेस्रो चरणमा आइतबार बाँकेको खजुरामा बोल्ने क्रममा थापाले कांग्रेस र एमाले मिलेको अवस्थामा कानुन संशोधन गर्न सकिने बताए। उनले भने, ‘सानोसानो पसल खोलेर धन्दा चलाउने अवस्था सधैंको लागि बन्द गरिदिऔं। १५ सिटे, २० सिटे, ३० सिटे पार्टीले कहिले कांग्रेस तर्साउने, कहिले एमाले तर्साउने गर्न थाले। यो खेललाई सधैंका लागि बन्द गर्ने कानुन बनाऔं।’

एमालेसँगको संवाद निर्वाचन अघि गठबन्धन नगर्ने विषयमा हुनुपर्ने उनले बताए। निर्वाचन अगाडि गठबन्धन नगर्ने कांग्रेसले निर्णय गरेको जस्तै नेकपा एमालेलाई त्यस्तै निर्णय गराउन संवाद आवश्यक रहेको उनले बताए। उनले भने, 'त्यो कसरी पुर्‍याउन सकिन्छ ? निर्वाचन प्रणाली बदलेर सकिन्छ। सकिन्छ भने संविधान बदलौं। सकिन्न भने कानुन भए पनि बदलौं,’ थापाले भने। एमालेसँगको छलफल सरकार बनाउन केन्द्रित नहुने उनले बताए।

२०८१ साल कांग्रेसको पुनर्जागरणको साल बनाऔं भन्ने पार्टीमा आफ्नो प्रस्ताव रहेको उनले सुनाए। कांग्रेसभित्रै सामर्थ्य र शक्ति रहेकाले त्यसलाई चिन्नुपर्ने उनले बताए। पार्टीलाई यो वर्ष शुद्ध र सुदृढ बनाउन सरकार बनाउनमा ध्यान दिन नहुने थापाले बताए। उनले भने, ‘२०८१ सालभर बालुवाटारतिर आँखा नलगाउने, सिंहदरबारतिर आँखा नलगाउने। कम्युनिस्ट पार्टी मिलेर सरकार बनाउनु भएको छ। चलाउन दिऔं। उहाँहरूले मजाले चलाउनुस्। हामीले फर्केर पनि नहेरौं।’

प्रकाशित: Apr 14, 2024| 16:37 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्