आइतबार, पुस १३, २०८२

भारत सरकारद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुलबस उपहार

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

काठमाडौं- भारतीय राजदूतावास, काठमाडौंले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ।

National life

अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा एम्बुलेन्स तथा स्कुलबसका चाबी हस्तान्तरण गरे। सो समारोहमा विभिन्न स्थानीय तहका मेयर तथा गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो।

उपहारस्वरूप हस्तान्तरण गरिएका कुल एक सय एक सवारीसाधनमध्ये दुईवटा एम्बुलेन्स दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए।

नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा एम्बुलेन्स तथा स्कुलबस उपहारस्वरूप प्रदान गर्दै आएको छ।

कार्यक्रममा अर्थमन्त्री पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकाससम्बन्धीका परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए। यस्ता  कार्यक्रम नेपाली जनताका लागि निकैै फाइदाजनक हुने उनको भनाइ थियो।

Laxmi sunrise bank
kumari

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले  स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारले लामो समयदेखि पहल लिँदै आएको बताए। उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रूपमा रहेको जानकारी दिए। भौगोलिक रूपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि उनले उल्लेख गरे।

भारतीय राजदूतावासका अनुसार सन् १९९४ यता भारत सरकारले हालसम्म नेपालभर एक हजार नाै एम्बुलेन्स र तीन सय स्कुलबस उपहारस्वरूप उपलब्ध गराइसकेको छ।

प्रकाशित: Apr 14, 2024| 16:22 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्