आइतबार, पुस १३, २०८२

पूर्वाधार बनेसँगै पर्वतमा तानिँदैछन् पर्यटक

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

पर्वत- साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ।

National life

विभिन्न संघसंस्थाले अध्ययन तथा अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वतको सदरमुकाम कुश्मा क्षेत्रलाई बनाइरहेका छन्। कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुंगे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो।

नयाँ वर्ष प्रारम्भ र चैतेदसैँको बेला भएकाले दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन्। गर्मीयाम सुरु भएसँगै कालीगण्डकीमा जलयात्राको यामसमेत सुरु भएको छ। नयाँ वर्षमा पर्यटकको सङ्ख्या बढेसँगै कुश्माबजारका होटल भरिभराउ हुन थालेका छन्। एकसाता अघिदेखि नै होटल बुकिङ हुन थालेको सञ्चालकहरूको भनाइ छ। पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन्।

चैतदेसैँ तथा गर्मीयामको समयमा हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने तथा उपल्लो मुस्ताङ र कोरल्ला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको स्थानीय बताउँछन्।

मुस्ताङ जाने दर्शनार्थीका साथै अन्य पर्यटकले जाने र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेका होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले बताए। उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटबल, कपिलवस्तुलगायत क्षेत्रबाट शैक्षिक संघसंस्था, सहकारी संस्था, विभिन्न सामुदायिक संघसंस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यहाँ आउने क्रम बढिरहेको छ।

Laxmi sunrise bank
kumari

कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ, म्याग्दीतर्फ जाने गरेका होटल व्यावसायीको भनाइ छ।

पछिल्ला केही दिनयता सदरमुकामका सुविधासम्पन्न होटल, रिसोर्ट तथा रेष्टुराँ भरिभराउ हुन थालेका सञ्चालक श्रेष्ठको भनाइ छ। बञ्जीजम्प र जीपलाइनमा पनि एकसाता अघिदेखि नै टिकट बुक भइरहेको सञ्चालकले बताएका छन्। अन्य दिनभन्दा शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिनमा पर्यटकको चाप बढी हुने गरेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए। यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्य मात्रामा आउन थालेका उनको भनाइ छ।

पर्यटकको चहलपहल बढेकै अवस्थामा पर्वतको जलजलामा ३० करोड रूपैयाँ लगानीमा निर्माण गरिएको ज्ञान गौरी पार्टी प्यालेसले पनि शनिबारदेखि सेवा सुरु गरेको छ। २३ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पाँचतलामा ३९ कोठा भएको होटलमा एकैदिन दुई सय जनासम्म पाहुना बस्न सक्ने सञ्चालक कृष्ण केसीले जानकारी दिए।

आन्तरिक पर्यटकको चाप अत्यधिक भएसँगै सवारी पार्किङको समस्या देखिएको छ। सवारीसाधन बजारका भित्री सडक र पर्यटकीय पूर्वाधार नजिकै पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको सवारी चालकको गुनासो छ। रासस

प्रकाशित: Apr 14, 2024| 21:01 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्