बुधबार, भदौ १०, २०८३

कैलालीमा १३ करोडका दुई पक्की पुल अलपत्र

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

कैलाली- मोहनापुल-अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन दुई वटा पक्की पुलको काम अलपत्र परेको छ।

ठेकेदार कम्पनीको लापरबाहीले गोदावरी नगरपालिका-५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको काम अलपत्र परेको हो। सुनिखोलामा तीन करोड ७७ लाख रूपैयाँको लागतमा राजेन्द्र निर्माण सेवाले २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्ने गरी २०७७ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो।

सम्झौता म्याद सकिएपछि २०८० असारमा सम्पन्न गर्ने गरी आठ महिना समयावधि थपिए पनि कुनै काम नगरेको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए। थपिएको म्यादमा निर्माण कम्पनीले काम नगरेपछि अब म्याद थप नगरिने उनले बताए। सो पुल निर्माणको काम ६५ प्रतिशत मात्र भएको छ।

गोदावरी नगरपालिकाकै मनहरा खोलामा नौ करोड ५० लाखको लागतमा निर्माण थालिएको अर्को पुल पनि अलपत्र छ। उच्चकोटी- समिदेव-राजेन्द्र जेभीले मनहरा खोलाको पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो। पुलको डिजाइन संशोधन गर्नुपर्ने भएपछि काम रोकिएको महाकाली पुल आयोजनाले जनाएको छ।

महाकाली पुल आयोजना कार्यालयले संशोधनसहित फाइल विभागमा पठाएको र स्वीकृत नभएको इन्जिनियर  चन्दले बताए। मनहरा खोला पुल निर्माणको समय २०८१ कात्तिक २६ गते सकिएको हो। नयाँ डिजाइन स्वीकृत भयो भने सो पुलको निर्माण कार्य अघि बढ्ने जनाइएको छ।

यसैगरी, कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा पुल निर्माणको काम अघि बढेको छ। इन्जिनियर चन्दका अनुसार २०८० जेठसम्म निर्माण सम्पन्न गर्ने गरी १३ करोड ३६ लाख रूपैयाँमा रायमाझी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। 

केही समय विवादका कारण रोकिए पनि अहिले काम अघि बढेको आयोजना कार्यालयले जनाएको छ।

प्रकाशित: Apr 14, 2024| 22:01 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्