आइतबार, पुस १३, २०८२

आगलागीबाट एक सातामै ६ जनाले ज्यान गुमाए कर्णालीमा

 |  आइतबार, वैशाख २, २०८१


कर्णाली- कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ। डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो। डोल्पाको ठुलीभेरी नगरपालिका-४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीन जना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो।

National life

त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको छ। गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए। उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए। एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ। मृत्यु भएका मध्ये दुई बालक एकै घरका हुन्। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकहरुको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्याएको थियो।

त्यसैगरी, हम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका-८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको बताए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो। सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए।

Laxmi sunrise bank
kumari

जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए।  भेडीगोठमा ६० वटा भेडा जलेर मरेका छन्। एक सय २० वटा भेडामध्ये   ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ।

रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ। आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ। हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ।

प्रकाशित: Apr 14, 2024| 19:01 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्