बुधबार, भदौ १०, २०८३

पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

पर्सा- पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि होटल, रिसोर्टजस्ता पर्यटकीय संरचना निर्माणको क्रम बढ्दै गएको छ। मधेस प्रदेशको एकमात्र सो निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटक आउनेक्रम बढेसँगै निकुञ्ज वरिपरि रिसोर्ट तथा होटल खुल्ने क्रम बढेको हो।

आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायीले ठूलो लगानीमा होटल तथा रिसोर्ट खोल्न थालेका हुन्।

केही समयअघिसम्म दुई–तीन वटा मात्र होटल देखिने निकुञ्ज वरिपरि अहिले दुई दर्जनभन्दा बढी होटल तथा रिसोर्ट खुलेको होटल व्यवसायी सुमन श्रेष्ठले बताए।

निकुञ्ज नजिक दुई करोड ५० लाखको लगानीमा रिसोर्ट निर्माण भएको छ भने मध्यवर्ती क्षेत्रको बफर जोनमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ। हात्तीको प्रमुख बासस्थान मानिएको निकुञ्जमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ।

पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२औँ निकुञ्जको रुपमा घोषणा गरेको थियो। पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको लागि खुला गरिएको छ।

प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको अवलोकन गर्न सकिने जैविक विविधताको धनि मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम पनि बढेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताए।

प्रकाशित: Apr 14, 2024| 11:50 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्