इरानले इजरायलमाथि आक्रमण सुरु गरेको छ। इरानी सेनाले इजरायलको तर्फबाट लगातार बढ्दै गएको आपराधिक गतिविधिविरुद्ध आक्रमण सुरु गरेको बताएको छ।
बीबीसीका अनुसार गत अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूतावासमाथि भएको आक्रमण इजरायलले गराएको आरोप लगाउँदै इरानले आक्रमण सुरु गरेको हो।
‘अपरेशन टू प्रमिस’ नाम दिएर इरानले शनिवार रातभर इजरायलमाथि ड्रोन र मिसाइलले आक्रमण गरेको हो। इरानले इजरायलको जेरुशेलमसहित विभिन्न सहरमा आक्रमण सुरु गरेको हो। हालसम्म आक्रमणले के कति क्षति भयो भन्ने यकिन विवरण सार्वजनिक भएको छैन।
पहिलेदेखि हमाससँग युद्धमा रहेको इजरायललाई इरानी आक्रमणपछि तनाव उत्पन्न भएको छ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति जो बाइडनबीच टेलिफोनमा वार्ता भएको छ। प्रधानमन्त्री नेतन्याहूले इरानी आक्रमणबारे बाइडनलाई जानकारी गराएका छन्।