आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इतिहास बोकेको जनजागृति : ‘गुल्मी शिक्षा’ को चम्किलो ज्योति 

इतिहास बोकेको जनजागृति : ‘गुल्मी शिक्षा’ को चम्किलो ज्योति 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
गुल्मी- २०१३ सालमा नेपालका धेरै जिल्लामा औपचारिक शिक्षाको सुरुवात भएकै थिएन । एक सय चार वर्षीय निरंकुश राणा शासनले थला परेको सामाजिक परिवेशमा शैक्षिक जागरण पनि अवरुद्ध थियो । राणा शासन अन्त्यपछि शैक्षिक जागरण तथा सामाजिक रुपान्तरण अभियान सुरु भयो । त्यो लहरले गुल्मी पनि तरंगित भयो । गुल्मीको हुँगामा जनविकास पाठशाला खोलेर शैक्षिक जागरणको एउटा नयाँ अभियान सुरु गरियो। अहिले विद्यालय स्थापनाको ५० वर्ष पुगेको छ । यसै अवसरमा विद्यालयले आगामी पुस १ गतेदेखि ५ गतेसम्म विविध कार्यक्रम गरी स्वर्णमहोत्सव मनाउँदैछ ।

हुँगाका सामाजिक अगुवा झविन्द्रप्रसाद भण्डारी, हरिप्रसाद भण्डारी, रविलाल भण्डारी तथा खिमलाल भण्डारीको पहलमा २०१३ सालमा हुँगाको ठूला पोखरामा प्राथमिक जनविकास पाठशाला स्थापना गरियो । एघार वर्षपछि त्यही प्रावि जनजागृति माध्यमिक विद्यालयमा रुपान्तरण भयो । ६३ वर्षपहिले हुँगाका केही अगुवाले जग बसाएको जनजागृति आज गुल्मी शिक्षाकै एउटा चम्किलो ज्योति बनेको छ र हुँगा समग्र जिल्लाको एउटा शैक्षिक केन्द्रका रुपका स्थापित भएको छ ।

शैक्षिक गतिविधि शून्यप्रायः जस्तै रहेको गुल्मीमा बुद्धिजीवी तथा स्थानीय बासिन्दाको पहलमा स्थापित जनविकास पाठशाला जिल्लाकै पहिलो शैक्षिक संस्था हो । हुँगेली बुद्धिजीवीको पहल तथा स्थानीय श्रमदानबाट स्कुल स्थापना भयोे तर सञ्चालनका लागि धेरै संघर्ष गर्नुपर्‍यो । शिक्षक नपाएपछि संस्कृत पढेका अगुवालाई पढाउन लगाइयो । स्रोत नभएकाले सुरुमा खरको छाना राखेर एककोठे छाप्रोमा राखेर पढाउन थालियो। यस्तो औपचारिक पठनपाठन जिल्लाका अरु गाउँमा सुरु भएकै थिएन। 

त्यसको केही महिनापछि भारतीय सेनाका अवकाश प्राप्त जमदार चिन्तामणि ढेगा मगर र बनारसमा पढेका केही युवालाई पढाउन आग्रह गरियो । हुँगाका अगुवा तथा बुद्धिजीवीको मेहनतले जिल्लाका अधिकांश विद्यार्थीको रोजाइ बन्न पुग्यो जनविकास पाठशाला ।

२०१५ सालको आमचुनावपछि पहिलोपटक जननिर्वाचित सरकार बनेसँगै केही उच्च वर्गले पनि पढाइमा रुचि राख्न थाले, जसले स्कुल स्थापना गर्नेहरुमा उत्साह थप्यो । स्थानीयकै पहलमा स्थापना भएको उक्त स्कुलमा सरकारले कुनै सहयोग दिएको थिएन । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं बुद्धिजीवी तथा हुँगावासीले जसरी पनि हुँगामा स्थाना गरिएको स्कुल अगाडि बढाउने स्थानीयको संकल्प गरे जिल्लामै उत्कृष्ट विद्यालय बनेपछि हुँगामा विद्यार्थीको समेत चाप बढ्दै गयो । 

२०२३ सालमा स्थानीयको सहयोगमा बुद्धिजीवी तथा शिक्षकले १० कक्षासम्मको पढाइ सुरु गर्ने निर्णय गरे । स्कुलमा १० कक्षाको पढाइ सुरु गरिए पनि प्राथमिक जनविकास पाठशाला हुँगालाई शिक्षा मन्त्रालयले स्वीकृति दिएको थिएन । 

त्यतिबेला जिल्लाका गाउँमा शैक्षिक गतिविधि हुँदैन थियो । शैक्षिक गतिविधि शून्यजस्तै रहेका बेला हुँगामा भइरहेको शैक्षिक गतिविधिले प्राथमिक जनविकास पाठशालामा छिमेकी गाविस पल्लीकोट, वीरवास, गैंडाकोट, सिमिचौर, तमघास, आँपचौर, पराल्मी, तुराङ, रूपाकोट, जुनियाँ, जोहाङ, अस्लेवा, टाहाटिम, बलेटक्सार, थोर्गा श्रीङ्गा, दिगामा, धरमपानीलगायतबाट विद्यार्थी आउन थाले । त्यसपछि  उक्त पाठशालालाई सबै गाविसको पायक पर्ने ठाउँमा सार्न १७ गाविसका बुद्धिजीवी भेला गरियो ।

भेलामा केही बुद्धिजीवीले जुन गाविसमा स्कुल स्थापना गर्ने हो त्यसले विद्यालय निर्माणसँगै सञ्चालनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा लिनुपर्ने प्रस्ताव गरियो। छिमेकी गाविसले भवन निर्माणमा श्रमदान मात्र गरे पुग्ने प्रस्ताव स्वीकार गर्न हुँगाबाहेक अरू गाविस तयार भएन र स्कुल हुँगामै राख्ने निर्णय भयो । 

बुद्धजीवी तथा सम्पूर्ण हुँगाबासीको भेला गरी चन्दा संकलनबाट स्कुल निर्माण र  सञ्चालन गर्ने निर्णय गरियो । आर्थिक अवस्था हेरी प्रत्येक घर धुरीबाट सात सयदेखि अवस्था ६० रुपैयाँसम्म चन्दा संकलन गरियो । यसरी चन्दाबाट हुँगाबासीले तीन लाख बढी जम्मा भयो भने स्थानीयको श्रमदानमा ५ महिना लगाएर १२ कोठासहितको विद्यालय तयार भयो।

स्थानीयको स्वस्फूर्त सहयोगबाट स्थापित स्कुललाई सुरुमा सरकारले स्वीकृति दिएको थिए । स्थानीय बासिन्दा तथा बुद्धिजीवीले जसरी भए पनि सरकारबाट स्वीकृति लिनुपर्छ भन्ने अठोट गरे । विद्यालय स्थापनाका लागि अगुवाहरू शिवलाल भण्डारी (गुङडुङ), रविलाल भण्डारी (ठुलापोखरा) तथा थानेश्वर भण्डारी (गैराबारी) लाई माध्यमिक विद्यालय स्वीकृति लिन काठमाडौं पठाइयो ।



ताराप्रसाद भण्डारी २०२३ मा काठमाडौंमा बिएस्सी अध्ययन गर्दाको क्षण सम्झन्छन्, ‘मेरो बुवासहित हुँगाका तीनजना बुद्धिजीवी स्कुलको स्वीकृति लिन काठमाडौं आउनुभएको रहेछ । उहाँहरू शिक्षा मन्त्रालय जानुभएछ तर शिक्षा सचिवले स्वीकृति दिन मानेका रहेनछन् । बुबाहरु मन्त्रालयमै अनशन बस्ने बताउँदे हुनुहुन्थ्यो अनि मलाई थाहा भयो, उहाँहरू स्कुलको स्वीकृति लिन आउनुभएको रहेछ ।’

स्वीकृति लिन राष्ट्रिय पञ्चायतका सदस्य तथा गुल्मीका अगुवा गोकर्णराज शास्त्री, डिल्लीराज पन्तसहित हुँगाबाट आएको टोली सिंहदरबारस्थित मन्त्रालयमा पुग्यो, शिक्षा सचिव थिए दीर्घराज कोइराला । कोइरालाले हुँगाको स्कुललाई स्वीकृति दिन मानेनन् । त्यसपछि शिवलाल भण्डारी, रविलाल भण्डारी र थानेश्वर भण्डारीले स्वीकृति नदिए सचिवकै अगाडि मन्त्रालयमै अनशन बस्ने भन्दै दबाब दिए ।

२४ दिनसम्मको निरन्तर दबाबपछि सचिव कोइरालाले लुम्बिनी अञ्चलका तत्कालीन सहअञ्चलाधीशलाई अनुगमनपछि आवश्यक रहे स्वीकृति दिनू भनेर पत्र लेखे । 

शिक्षा सचिवको उक्त पत्र पाएपछि सहअञ्चलाधीशको टोली अनुगमनका लागि स्कुल पुग्यो र निरीक्षण गर्‍यो । विद्यालयको विशाल भवन र करिब दुई सय विद्यार्थीले अध्ययन गरिरहेको देखेपछि अनुगमन टोली उत्साहित भयो । त्यसपछि जनजागृति माध्यमिक विद्यालयले २०२४ पुस १ गते भव्य कार्यक्रमका बीच स्वीकृति पायो । 

स्थानीय बासिन्दा र अगुवाको आर्थिक सहयोगको भरमा सञ्चालन भएको प्राथमिक जनविकास पाठशालाले ११ वर्षपछि स्वीकृति पायो । स्कुलको नाम श्री जनजागृति माध्यमिक विद्यालय नामकरण गरियो । स्वीकृत पाएपछि विद्यालयले ५० प्रतिशत सरकारी अनुदान पाउन थाल्यो । 

संस्थापक प्रधानाध्यापक थानेश्वर भण्डारीपछि लेखनाथ पौड्याल, केशरमणि पोखरेलले अध्यापनमा गरेको मेहनतका कारण जनजागृति माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेपछि काठमाडौं बसेर पढ्दै गरेका युवालाई स्कुलमा पढाउन बोलाइयो । त्रिचन्द्र कलेजबाट बिएस्सी पास गरेका ताराप्रसाद भण्डारी, बनारसबाट संस्कृत अध्ययन गरेका नरेन्द्रदेव भण्डारी, पारसमणि भण्डारी, बुद्धिप्रसाद भण्डारीलगायतका युवाले जनजागृति माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर विकासमा योगदान गरे ।

२०२६ सालमा जनजागृति माध्यमिक विद्यालयले पहिलोपटक एसएलसीमा सहभागी हुने अवसर पायो । त्यस बेला विद्यालयबाट १० जनाले एसएलसी परीक्षा दिए । नौ  जना राम्रो अंक ल्याएर पास भए । पहिलो वर्षमै एसएलसीमा ९० प्रतिशत विद्यार्थी पास भएपछि उत्साह थपियो । जिल्लाका अन्य स्कुलको तुलनामा जनजागृति मावि सर्वोत्कृष्ट स्कुल बन्न सफल भयो । त्यसपछि विद्यालय गुल्मी जिल्लाकै नमुना बन्यो । छिमेकी पाल्पा, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ, प्युठान जिल्लाबाट पनि विद्यार्थी पढ्न आउने गरेको तत्कालीन प्रधानाध्यापक ताराप्रसाद भण्डारी सम्झन्छन् ।

विद्यालयले गुणस्तरीय शिक्षा दिन थालेपछि सरकारी अनुदान बढ्दै गयो । राष्ट्रिय विद्यार्थी सेवामा भर्ना हुने विद्यार्थी प्रयोगात्मक परीक्षाका लागि विभिन्न विश्वविद्यालयका विद्यार्थी जनजागृति मावि जान थाले ।

जनजागृति माध्यमिक विद्यालयले सामाजिक जागरण र जनचेतना फैलाउन तथा कुसंस्कार अन्त्य गर्न खेलेको भूमिका महत्त्वपूर्ण छ । स्कुलमा पढेका कैयन् विद्यार्थी देशका नीति निर्माण गर्ने जिम्मेवार स्थानमा पुगेका छन् । यस्तै कतिपय पूर्वविद्यार्थी डाक्टर, इन्जिनियर, पत्रकार, व्यवसायी तथा सुरक्षा निकायको उच्च पदमा पुगेर देश र जनतको सेवामा सक्रिय छन् । 

२०४६ सालमा भएको पञ्चायतविरोधी आन्दोलनमा उक्त स्कुलमा पढेका युवाको भूमिका उदाहरणीय बनेको थियो । धर्म संस्कृति संवद्र्धनका लागि स्कुलले आयोजना गरेका कार्यक्रम भावी सन्ततिका लागि मार्गदर्शन बनेका छन् ।

शिक्षामा मात्र होइन, जिल्लास्तरीय खेलकुद प्रतियोगितामा पनि यो विद्यालय अब्बल रहँदै आएको छ । जिल्लाको पुरानोमध्येको जनजागृति मावि शिक्षक उत्पादन गर्ने स्कुलका रूपमा पनि परिचित छ । अहिले जिल्लाका अधिकांश स्कुलमा अध्यापन गराइरहेका शिक्षक जनजागृतिकै पूर्वविद्यार्थी छन् । 

विद्यालयकी प्रधानाध्यापक कमला भण्डारी भन्छिन्, ‘जनजागृतिको गौरव उच्च बनाउन हामीले यस पटक स्वर्ण महोत्सव  आयोजना गरेका हौं। यसले हाम्रो शैक्षिक यात्रालाई थप उचाइ प्रदान गर्ने विश्वास छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।