आइतबार, पुस १३, २०८२

हराएका मानिस कसरी खोज्छ प्रहरी ?

 |  शुक्रबार, चैत ३०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं- बालक हुन् वा वृद्ध कुनै पनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अनजानमा मानिसहरू हराउने गरेका छन्। घरपरिवारबाट अचानक सम्पर्क विहीन हुने गरेका छन्। जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन्।

National life

आफ्ना प्यारा सदस्य हराएको पीडाको खबर सुन्दा कस्को मन चसक्क नछोला र ! यही दुखद् पीडापछि मानिसहरू प्रहरीलाई सम्झछन् र खोजीका लागि अनुरोध गर्दछन्। यसरी सूचना प्राप्त हुनासाथ खोजी गर्ने क्रममा हराएका मध्ये सिन्धुपाल्चोकका ८ वर्षीय बालकलाई काठमाडौं ढुंगेअड्डामा प्रहरीले फेला पार्‍यो। उनलाई भ्वाइस अफ चिल्ड्रेन ललितपुरमा संरक्षणका लागि पठाइयो। यसै गरी धनुषाकी १४ वर्षीया बालिका कोही कसैलाई जानकारी नगराई घरबाट गत कात्तिक ८ गते हराई बेपत्ता भएको खबर प्राप्त भयो।

तत्काल खटिएको प्रहरीले हुलियाका आधारमा खोजी गर्दा जनकपुरधाममा फेला पारी उनकी आमालाई जिम्मा लगायो। यसै गरी धनुषाकै २१ वर्षीया किशोरी जानकारी बिना नै गत फागुन २ गते हराई बेपत्ता भइन्। प्रहरीले खोजी गर्ने क्रममा क्षिरेश्वरनाथमा फेला पार्न सफल भयो। उपरोक्त मानिसहरू बाहेक यसरी खोजी गर्ने क्रममा अन्यलाई समेत प्रहरीले फेला पारेको छ।

प्रहरी खोजी तथा उद्दारमा जुट्ने क्रममा चालू आर्थिक वर्ष २०८०-८१ को साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन्। ती मध्ये १ हजार १७९ जना पुरूष, २ हजार ४३९ जना महिला, ७२७ जना बालक, १ हजार ६ सय जना बालिका र ९७ जना जेष्ठ नागरिक रहेका छन्। फेला परेका मानिसहरू मध्ये काठमाडौं उपत्यकाबाट १ हजार २७२ जना, कोशी प्रदेशबाट १ हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना, बागमती प्रदेशबाट ६२४ जना, गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना रहेका छन्।

सो अवधिमा १० हजार ४९ जना मानिस हराएका थिए। हराएका मध्ये ३ हजार ३७९ जना पुरूष र ६ हजार ६७० जना महिला रहेका छन्। हराएका मानिसहरूको खोजी तथा उद्दारपछि परिवारसँग पुनर्मिलन गराउने गरिएको छ। पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा संरक्षणका लागि
जिम्मा लगाउने गरिएको छ। मानिस हराएपछि थपिएका पीडा हटाउन प्रहरी सदैव सक्रिय रहँदै आएको छ। खोजी तथा उद्दारका लागि प्रहरीले विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा काम गर्ने गरेको छ।

Laxmi sunrise bank
kumari

खोजी सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन्, “अनजान वा लापरवाहीले अप्ठ्‍यारोमा परेकाको खोजी तथा उद्दार गर्नु मानवीय कार्य हो। नागरिकको जीवन रक्षाको काम गर्ने प्रहरी संगठनले दु:खमा परेका नागरिकको पीडा घटाउन खोजी कार्यमा सक्रियता र तिब्रता अपनाएको छ। खोजी मात्रै होइन मानिस के कारण हराउँछन् ?

यस्तो अवस्था आउँन नदिन सचेतना फैलाउने, सम्झाउने र पुन:घटना दोहोरिन नदिन वातावरण सिर्जना गर्न पनि प्रहरीको पहल रहने छ।” हराएका मानिसहरूको विवरण राख्न नेपाल प्रहरीले udb.nepalpolice.gov.np वेबसाइटको व्यवस्था गरेको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उक्त वेबसाइटको गत भदौ १७ गते उद्‍घाटन गरेका थिए। तत्पश्चात वेबसाइटमा विवरण राख्न र हराएका व्यक्ति सनाखत गर्न सहज भएको छ। सरोकारवाला सबैले एकै स्थानबाट सूचना पाएपछि खोजीमा सक्रियता अपनाउन, पहिचान गर्न र उद्दार गर्न सजिलो भएको छ।

आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म ३६ हजार ९८५ जना हराएका मानिस फेला परेका छन्। ती मध्ये ११ हजार ३५९ जना पुरूष र २५ हजार ६२६ जना महिला रहेका छन्। सो अवधिमा ९३ हजार ६९१ जना मानिस हराएका थिए। हराएका मध्ये २८ हजार ६९० जना पुरूष र ६५ हजार १ जना महिला रहेका छन्। तथ्याङ्क विश्‍लेषण गर्दा सबै भन्दा महिला हराउने गरेको देखिन्छ।

हराएका व्यक्ति खोजी गर्न नेपाल भर नेपाल प्रहरीका सबै युनिटहरू सक्रिय छन्। जंगलमा हराएकालाई साइरन बजाउँदै र ठूलो स्वरमा कराउन लगाउँदै खोजी गर्ने गरिएको छ। भौगोलिक अवस्था र परिस्थिति अनुसारको खोज तरिका अपनाउने गरिएको छ। लोकेशन थाहा पाउन प्रविधिको प्रयोग र अन्य विभिन्न तरिका अवलम्बन गर्ने गरिन्छ।

खतराको अवस्थालाई आँकलन गरी सुरक्षा अपनाउने गरिएको छ। आफू जोगिएर खोजी तथा उद्दार गर्न प्रहरी सचेत छ। खोजी तथा उद्दार सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्‍वर तिवारी भन्छन्, “हराएका मानिसहरू खोजी गर्न प्रहरी गस्ती बढाइएको छ। सूचना संकलन, प्रविधिको प्रयोग, सशक्त रूपमा प्रहरी परिचालन, सम्बन्धित प्रहरी कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय लगायतका गतिविधि गरी सक्रिय रूपमा खोजी गर्ने गरिएको छ। प्रहरी र आफन्तको संयुक्त प्रयासबाट समेत तदारूकताका साथ खोजी हुने र हराएका मानिस फेला पर्ने गरेका छन्।” खोजी गरी पत्ता लागिसकेपछि मानिसहरूले भन्ने गरेका छन, “अब म सचेत हुन्छु। अप्ठ्यारो स्थितिमा खोजी गर्नुजस्तो पुनित र राम्रो कामको लागि नेपाल प्रहरीलाई धन्यवाद छ।”

प्रकाशित: Apr 12, 2024| 17:15 शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्