काठमाडौं- नेपाली कांग्रेस केन्द्रिय कार्यलय सानेपा शुक्रबार बिहानदेखि नै खचाखच भरिएको छ।देशभरबाट आएका महासमिति प्रतिनिधि र पर्यबेक्षकले पार्टी मुख्यालयमा नाम दर्ता गराइरहेका छन्।शनिबारदेखि सुरु हुने महासमितिको बैठकबारे समूह समूह चर्चा र परामर्श चलिरहेको छ।
बैठकमा सहभागी हुन १६ सय बढी प्रतिनिधि र पर्यबेक्षक काठमाडौं आइपुगेका छन्। अधिकांश बिहानदेखि सानेपा पुगेका थिए। पार्टी कार्यलयको ग्राउन्डदेखि भवनका सबै तलामा प्रतिनिधि र कार्यकर्ता खचाखच भरिएका थिए। कार्यलय बाहिरको खाली सडक र चिया पसल पनि कांग्रेसीहरुले नै भरिएका छन्।
उद्घाटन शनिबार रामशाहपथस्थित एक पार्टी प्यालेसमा हुने भएको छ। उद्घाटन लगत्तै बन्दसत्र छ। देशभरबाट आएका प्रत्येक प्रतिनिधिसँग प्रवेश शुल्कबापत एक हजार रुपैयाँ शुल्क उठाइने भएको छ। महासमिति बैठकमा पुरानो २ सय ४० निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले एक हजार दुई सय जना, भातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट ९७ जना प्रतिनिधि सहभागी हुनेछन्।
महासमिति बैठकस्थलमा फ्री वाईफाई जोनको व्यवस्था गरिने, बैठकस्थल भित्र प्रवेश गर्ने र बाहिरिने छुट्टाछुट्टै गेटको व्यवस्था हुने, बैठकस्थलमा पास भएको सवारीले मात्र प्रवेश पाउने, सभाहलभित्र दुई वटा प्रोजेक्टरमार्फत बन्द सत्रका गतिविधि प्रशारण गरिने व्यवस्था छ।महासमितिमा भाग लिन आउने प्रत्येक सहभागिलाई बिहानको खाजा, दिउँसोको खाना र दिउँसोको चियाको व्यवस्था गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४