वीरगन्ज- जनप्रतिनिधिकै संरक्षणमा पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनसँग सीमा जोडिएको पर्साको उत्तर पश्चिमी क्षेत्रमा फेरि अवैध गाँजा खेती सुरु भएको छ। निर्मलबस्ती, सुवर्णपुर, पटेर्वासुगौली, शंकर सरैया, ओढार क्षेत्रमा व्यापक रूपमा गाँजाखेती सुरु भएको हो।
मकवानपुर र धादिङमा उत्पादन गरिएको गाँजा र चरेश पर्सा, बारा हुँदै सीमापारी भारतीय बजारमा पुग्ने क्रम नरोकिएपछि यहाँका किसानले पनि आकर्षक कमाइको लोभमा फेरि गाँजा खेती थालेका हुन् । जनप्रतिनिधिहरु गाँजा खेती हटाउन सक्ने अवस्थामा नरहेको बताउँछन्।
‘हामीले गाँजा खेती नलगाऊ भन्न सक्ने अवस्था छैन’, पश्चिमी भेगका एकजना जनप्रतिनिधिले भने, ‘दिउँसै गाँजा चरेशको तस्करी भइरहेको अवस्थामा गाउँलेलाई दबाब दिन अप्ठेरो भएको छ ।’ जनप्रतिनिधिले गाँजा खेतीको विरोध गर्न सक्ने अवस्था नरहेको एक स्थानीयले बताए । ती स्थानीयले भने, ‘अहिले गाँजा खेती नष्ट गरियो भने चुनाव हारिन्छ भन्ने डर छ नेतालाई ।’
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले पूर्वसूचनाका आधारमा शंकास्पद स्थानमा छापा मारी गरी भरिया र गाँजा बरामद गरिएको बताए । उनले भने, ‘गाँजा खेती नष्ट गर्ने र सम्भावित स्थानमा निगरानी र गस्तीसमेत बढाएका छौं।’
एसपी श्रेष्ठको बोल्ड निर्णयले रोकिएको थियो गाँजा खेती
तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले गाँजा संरक्षणबाट प्रहरी र स्थानीय प्रशासनले प्राप्त गर्दै आएको लाखौं रुपैयाँको अवैध आम्दानीलाई बेवास्ता गर्दै गाँजा खेतीविरुद्ध गाउँगाउँमा जागरण र कारबाही अभियान चलाएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख रहेका बेला प्रहरी उपरीक्षक श्रेष्ठले गाँजा खेती र कारोबार निमिट्यान्न पार्ने प्रस्ताव जिल्ला सुरक्षा समिति र राजनीतिक दलका प्रतिनिधिसमक्ष राखेपछि प्रहरीको सक्रियता र सामाजिक संस्थाको सहभागितामा वर्ष दिनसम्म गाँजाखेती नियन्त्रण अभियान सञ्चालन भएको थियो ।
मनग्ये आम्दानी हुने गाँजा खेती वा भण्डारण गरे कानुनी कारबाहीमा पर्ने भयका कारण स्थानीय किसानले गाँजा खेती गर्न छाडेका थिए । घरघरमा भण्डारण गरिएको गाँजा आँगनमा जलाएर नष्ट पार्ने काम गाउँले आफैंले गरे ।
प्रहरी उपरीक्षक श्रेष्ठले यस्तो अभियान चलाउनुअघिसम्म यहाँको गाँजा तस्करले गाँजाखेती गर्ने किसानसँग रकम संकलन गरेर स्थानीय प्रहरी चौकी वा सीधै जिल्ला प्रहरी कार्यालयमा पुर्याउँथे । गाँजा संरक्षणका लागि पैसा संकलन गर्ने काम गाउँका अगुवा वा राजनीतिक दलका कार्यकर्ता आफैं सक्रिय हुन्थे ।
गाँजा ओसारपसारमा प्रयोग हुने रुट
लागूऔषध कारोबारीले गाँजा र चरेश पर्सा राष्ट्रिय निकुञ्ज हुँदै घोडेमसान, भाठा खोला, भलुवाही खोला हुँदै भाठा पोस्टबाट सिकारीबास पुर्याउँछन् । त्यहाँबाट पुनः विजयबस्ती, गढवा लाइन, ओडार हुँदै बागमोर्चाबाट भारतको भिखना ठोरी र सोहदोरासम्म ओसार्ने गरेको एक प्रहरी अधिकारीले बताए ।
यस्तै चारभैया पोस्ट भएर भलुवाही खोलाको बगर हुँदै सोनवर्षा, गादी खोला र त्यहाँबाट पश्चिम भलुवाही, पथलवाघाट भएर सोवर्षा, बैरिया, देउकुली, भतौडा, पटेर्वा सुगौली, देवरिया, अकवा पुर्याउने गरेको स्थानीयले जानकारी दिए । यसरी विभिन्न बाटो भएर सीमावर्ती क्षेत्रमा पुर्याइएको गाँजा रातको समयमा भरियामार्फत सीमापारि पुर्याइन्छ । भारत पुर्याउन जानकीटोल, सेढवा, भिस्वा, भिखमपुर, बैरियाबिर्ताको बाटो प्रयोग हुने गरेको छ।
यसैगरी मकवानपुरबाट त्रिभुवन राजमार्ग हुँदै कुद्ने यात्रुवाहक र मालबाहक गाडीमा समेत दैनिक रूपमा गाँजा ओसारपसार भइरहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ।
मकवानपुर र धादिङको चरेश प्रतिकिलो २५ देखि ३२ हजार रुपैयाँ (भारु १५ देखि २० हजार) सम्म बिक्री भइरहेको छ । गाँजाको स्तरअनुसार पाँचदेखि आठ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको स्थानीय बासिन्दाले जानकारी दिए ।
सैनिक निगरानीबाटै गुज्रिन्छन् गाँजा तस्कर
गाँजा तस्करीमा संलग्न तस्करले मकवानपुर र धादिङको गाँजा पर्सा राष्ट्रिय निकुञ्जबाटै ओसारपसार गरिरहेका छन् ।
‘सैनिक ब्यारेकमा मासिक रकम बुझाएर तस्करले रातको समयमा भरियामार्फत ठूलो परिमाणमा गाँजा ओसारपसार गर्छन्’,सोनवर्षाका एक व्यापारीले भने। गाँजा तस्करले सुरक्षाका लागि भरुवा बन्दुकसहितको हतियार बोकेर निकुञ्जमा गस्ती गरे पनि निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकले पक्राउ वा कारबाही गर्दैनन् । सेनाले वन्यजन्तु तस्करीबारे सूचना संकलन गर्न सादा पोसाकमा सुराकीका लागि समेत निकुञ्जको सीमा जोडिएको गाउँमा सैनिक खटाउने गरेको स्थानीयले बताए ।
वन्यजन्तु संरक्षण मात्र आफ्नो कार्य सूचीमा रहेको दाबी गर्दै निकुञ्ज प्रशासन र सैनिक ब्यारेकको नेतृत्व पन्छिने गरेको छ।