काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले केन्द्रीय कार्य समितिको बैठकमा पेश गरेको सांगठनिक प्रतिवेदनलाई लिएर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ।
महामन्त्री कोइरालाले पेस गरेको सांगठनिक प्रतिवेदनमा चुनावमा पराजय बेहोर्नुको कारण बामपन्थी गठबन्धन भएको निष्कर्ष निकालेको छ। उक्त निष्कर्षप्रति असहमति जनाउँदै पौडेलले चुनावमा पराजय हुनुको कारण पार्टी नेतृत्वको र सरकार सञ्चालनमा भएको कमजोरीका कारण उल्लेख गर्नुपर्ने भनेपछि सभापति देउवाले प्रतिवाद गरेका थिए।
उनले निर्वाचनमा आफू जनताको मन जितेर आउन नसक्ने तर नेतृत्वलाई गाली गरेर पराजयको रोष प्रकट गर्ने भन्दै प्रश्न गरेका थिए। गत ९ मंसिरदेखि चालु कांग्रेस केन्द्रीय समिति बैठकमा शुक्रबार महामन्त्रीको सांगठनिक प्रतिवेदनमाथिको छलफललमा भाग लिँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले महामन्त्री कोइरालाले पेश गरेको प्रतिवेदन अधुरो, अपुरो र कमजोरीलाई ढाकछोप गर्ने किसिमको भएको आरोप लगाएका थिए।
कृष्णप्रसाद सिटौला पक्षधर यूवा नेता गगनकुमार थापाले समेत निर्वाचनमा बेहोरेको पराजयको जिम्मेवारी केन्द्रीय समितिले लिनु पर्ने भन्दै प्रतिवेदनप्रति आपत्ति जनाएका थिए। यहीबीच शिर्ष नेताहरुबीच नै वादप्रतिवाद हुन थालेपछि अन्य केन्द्रीय सदस्यले शान्त पारेका थिए।
महामन्त्री कोइरालाले पेश गरेको सांगठनिक प्रतिवेदनमा सभापति देउवाको नेतृत्वको सरकारले स्थानीय, प्रदेश र संसदीय निर्वाचन गराएको उल्लेख गर्दै निर्वाचनमा कांग्रेस पराजय बेहोर्नुको अन्य कारण देखाएका छैनन। कोइरालाले पराजयको जिम्मेवारी कसले लिने भन्ने स्पस्ट पारेका छैनन्।
यूवा नेता गगन थापाले महामन्त्री कोइरालाको प्रतिवेदनमाथि टिप्पणी गर्दै संसदीय निर्वाचनमा बाम गठबन्धनका कारण कांग्रेसले पराजय बेहोरेको हो भने स्थानीय निर्वाचनमा गठबन्धन नभएको अवस्थामा कांग्रेसले किन हार्यो? भनेर जवाफ प्रतिवेदनमा नभएको जनाए।
थापाले स्थानीय तहका कतिपय ठाउमा काँग्रेसले जितेको अवस्थामा त्यसका बारेमा केही लेख्न’ नपर्ने र कमजोरी ढाकछोप मात्रै गर्ने र तथ्यबाट भाग्ने काम भएकोले सांगठानिक प्रतिवेदन संशोधनको माग गरे। कोइरालाको प्रतिवेदनमाथि अर्का नेता प्रदीप पौडेलले समेत गम्भिर असहमति राखेका छन्।
‘कोइरालाको प्रतिवेदन अपूर्ण र अपुरो छ। सांगठानिक चित्रण गर्न नसकेकोले थप छलफल गरी पार्टीको संगठन कमजोर हुनु र सरकारमा हुँदा कांग्रेसको पर्फमेन्स कमजोर र बद्नाम समेत भएकोले पराजय बेहोर्नु परेको तथ्य उल्लेख गर्नु पर्छ’, यूवा नेता पौडेलले नेपाल समयसँग भने, ‘हामीले गरेका निर्णयका कारण मतदातामा हामी अलोकप्रीय हुन गएको, टिकट वितरण र संगठन परिचालनमा भएको कमजोरी पनि उल्लेख गर्नु पर्छ।’
संस्थापन पक्षका नेताहरु एनपी साउद र आनन्दप्रसाद ढुंगानाले सांगठानिक प्रतिवेदन पूर्ण नभएकोले पुनर्लेखन गर्नु पर्ने माग गरेका थिए। विहीबारको बैठकमा केन्द्रीय सदस्यहरु पौडेल, साउद, ढुंगाना, थापा, कल्याण गुरुङ, बहादुरसिंह लामा, राधेचन्द्र यादवले बोलेका थिए।
केन्द्रीय सदस्यहरुले राजनीतिक र सांगठानिक प्रतिवेदनमाथिको छलफलमा भाग लिने क्रम नसकिएकोले शुक्रबार २ बजे बस्ने बैठकमा पुन छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। कोषाध्यक्ष सीतादेवी यादवले विहीबार पेश गरेको पार्टिको आन्तरिक आर्थिक प्रतिवेदन र लेपा परिक्षण समितिका संयोजक श्यामकुमार घिमिलेले पेश गरेको लेखा परिक्षण प्रतिवेदनमाथि पनि शुक्रबार नै छलफल हुने भएको छ।
हालसम्म सहमहामन्त्री डा. प्रकाशशरण महतले पेश गरेको पार्टीको समग्र आर्थिक नीति मात्र पारित भएको छ। शुक्रबारबाट शुरु हुने भनिएको महासमिति बैठकमा अझै चार वटा प्रतिवेदन पारित हुन बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४