आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाभित्र 'ग्याङ अफ फोर' : मदन भण्डारीदेखि केपी ओलीसम्म 

नेकपाभित्र 'ग्याङ अफ फोर' : मदन भण्डारीदेखि केपी ओलीसम्म 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - मदन भण्डारी महासचिव हुँदा उनी नजिकका चार नेतामध्येका एक थिए- अहिलेका अध्यक्ष केपी शर्मा ओली। उनीसँग अन्य सहयोगी थिए माधव नेपाल, वामदेव गौतम, जीवराज अश्रित।  

नेकपाको इतिहासमा संख्या चारको (ग्याङ अफ फोर)  विशेष प्रभाव रहने गरेको छ। भण्डारीको दुर्घटनामा निधन भएपछि एमाले सत्ताको नेतृत्व माधव नेपालको हातमा गयो। नेपाल महासचिव बने भने मनमोहन अधिकारी अध्यक्ष। त्यसबेला एमालेमा महासचिव कार्यकारी पद थियो भने अध्यक्षको भूमिका राजनीतिक हिसाबमा मात्र सीमित थियो। 

त्यसैले पार्टी कामको नेतृत्व महासचिवले गर्थे।  नेपालले पार्टी सत्ता हातमा लिएपछि उनी वरिपरि चार नेताको घेरा थियो। जसमा केपी ओली, वामदेव गौतम, प्रदीप नेपाल र ईश्वर पोखरेल थिए। उनहरूको रायमा पार्टी सञ्चालन गर्थे नेपालले । पछि त्यो चार समूह छिन्नभिन्न भयो। पार्टीको नेतृत्व फेरिएसँगै नेतृत्व वरिपरिको समूह फेरिँदै जानु स्वाभाविकै हो।
 
पार्टीमा पदाधिकारीको व्यवस्था थिएन। तर महासचिव र अध्यक्ष मात्र रहेकाले त्यसबेला सानो पोलिटब्युरो थियो। पोलिटब्युरोको निर्णय महत्त्वपूर्ण हुने गरेको थियो एमालेमा।
 
पार्टी अध्यक्ष झलनाथ खनाल भएपछि उनका वरिपरि फेरि चार जना रहन थाले- सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु पौडेल र वामदेव गौतम।
 

नेकपाको इतिहासमा संख्या चारको (ग्याङ अफ फोर)  विशेष प्रभाव रहने गरेको छ।

 
केपी ओली र प्रचण्ड अध्यक्ष भएपछि अहिले विष्णु पौडेल, सुवास नेम्बाङ, विष्णु रिमाल र वर्षमान पुनको समूह सक्रिय छ। ओलीलाई पार्टी र सरकार सञ्चालनमा यही समूहले सल्लाह दिन्छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली भने आफ्ना समूहको सल्लाह त्यति लिँदैनन्। ओलीले कुन बेला के निर्णय गर्छन् भन्ने कुरा सल्लाहकारलाई थाहा हुँदैन। 

विश्व कम्युनिस्ट आन्दोलनमा ग्याङ आफ फोर
 
कम्युनिस्ट अध्ययन गर्नेले थाहा पाएकै विषय हो चिनियाँ कम्युनिस्ट पार्टीभित्रको ग्याङ अफ फोर। कुनै बेला चीनमा ग्याङ अफ फोरको नेतृत्व माओत्सेतुङकी पत्नी जियाङ चिङले गरेकी थिइन्। उनका सहयोगी थिए- झाङ चुन चियाओ, याओ वेनयुआन र वाङ होङवेन। 

यस ग्याङका सदस्यहरू चिनियाँ सांस्कृतिक क्रान्तिताका शक्तिमा स्थापित भएका थिए। चिनियाँ सांस्कृतिक क्रान्तिकै बेला जब माओको स्वास्थ्य कमजोर हुन थाल्यो, विस्तारै यिनै चारले चिनियाँ सरकारका प्रमुख अंगमा हस्तक्षेप गरे। उनीहरूले दस वर्ष (सन् १९६६–१९७६) सम्म आफ्नो शक्ति देखाए। 

त्यसबेला देङ स्याओ पिङलाई कारबाही गरिएको थियो। पार्टीमा भद्रागोल हुने भएपछि आफ्नो अन्तिम अवस्थामा माओले फेरि देङलाई  स्थापित गरे। देङले त्यसपछि ग्याङ फोरमाथि कारबाही चलाए। 

सन् १९८१ मा यी चारै जनामाथि राज्य द्रोहको मुद्दा लगाई कारबाही गरिएको थियो। उनीहरूलाई सांस्कृतिक क्रान्तिका नाममा ३० हजार भन्दा बढी चिनियाँ कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताको हत्या गरेको अभियोग लगाइएको थियो। 

यीमध्ये वाङ होङवेनलाई जन्मकैद सुनाइयो । यान वेनयुआनलाई २० वर्ष जेल, जियाङ चिङ र झाङ चुनचियाओलाई पहिले मृत्युदण्ड सुनाइएकोमा पछि जन्मकैद मात्र दिइयो।

नेकपा शीर्षमा चार प्रतिपक्ष 
 
अहिले नेकपाको शीर्ष तहमा चार नेताहरू प्रतिपक्ष भूमिकामा छन्। गत शनिबार उनीहरूले सचिवालय बैठकसमेत बहिष्कार गरे। यसरी बैठक बहिष्कार गर्नेमा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ छन् । चार शीर्ष नेता निकट स्रोतका अनुसार उनीहरूले बैठक बहिष्कार गरेका होइनन्। 

गत भदौ १३ गतेको सचिवालय बैठकमा बैठकको समयबारे छलफल भएको थियो।  छलफलपछि निर्णय गरी माइन्युटमा लेखिएको छ– सचिवालयको संख्या सानो भएकाले तोकिएको समयभन्दा १५ मिनेट ढिलाइ भए बैठक रद्द हुनेछ। सोहीअनुसार बैठक स्वतः रद्द भएको नेपाल पक्षको दाबी छ।
 
स्रोतका अनुसार समयका कारण मात्र ती नेताहरूले बैठक बहिष्कार गरेका होइनन्। पार्टीभित्र असन्तुष्टि बढेको र विधिसम्मत नचलेको  झोक मिसिएको मात्र हो। मंगलबार एक कार्यक्रमा वरिष्ठ नेता नेपालले भने, ‘जुनसुकै काम गर्न पनि टिम चाहिने र त्यसको नेता राम्रो हुनुपर्छ।’ 

उनको यो भनाइले नेकपाभित्रको बिम्ब झल्किएको थियो। शंकरपुर अस्पतालले आयोजना गरेको विद्यार्थीको स्वागत  तथा बिदाई कार्यक्रममा उनले सफल हुन टिम चाहिने र टिमको  नेता र सहयोगी पनि त्यत्ति नै राम्रो हुनुपर्नेमा जोड दिएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।