काठमाडौं – मिस नेपाल शृंखला खतिवडाले मिस वर्ल्डकाे ताज जित्न नसके पनि आफूले सबैको मन जितेको बताएकी छन्। चीनको सान्यामा आयोजित मिस वर्ल्डकाे प्रतिस्पर्धामा भाग लिएर फर्केकी खतिवडाले बिहीबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मी कुरा गर्दै आफ्नो उद्देश्य नेपालाई विश्वसामु चिनाउनु रहेको र त्यसमा आफू केही हदसम्म सफल पनि भएको बताएकी हुन्।
शृंखलाले ब्युटी विथ द प्रपोज अवार्ड र मल्टिमिडिया अवार्ड जितेकी थिइन्। उनले यी दुई अवार्ड जित्दा आफूलाई गौरव महसुस भएको बताइन्। ‘मैले अपेक्षा गरेभन्दा धेरै माया पाएँ। जसले मलाई निकै खुसी तुल्याएको छ’, उनले भनिन्, ‘म यो ममतका लागि सबै नेपालीप्रति ऋणी छु।’
सञ्चारकर्मीले उत्कृष्ट १२ भित्र पुग्दाको अनुभव सोध्दा शृंखलाले आफू टप १२ मा पुग्छु भन्नेमा ढुक्क रहेको र त्यसलाई सहज रुपमा लिएको प्रतिक्रिया दिइन्। उनले आफू उत्कृष्ट पाँचभित्र पुग्ने विश्वास रहेको बताइन् ।
सक्दो प्रयास गरे पनि नतिजा आफ्नो पक्षमा नआउँदा दुःख लागेको उनले बताइन्। ‘नेपालबारे अरू देशका प्रतिनिधिहरुलाई कम ज्ञानकारी रहेछ । मैले नेपालका बारेमा व्याख्या गर्दा उहाँहरु अचम्म पर्नुहुन्थ्यो’, शृंखलाले भनिन्, ‘मैले सर्वोच्च शिखर सगरमाथाको कुरा गर्दा मलाई तिमीले माउन्ट एभरेस्ट चढिसक्यौ भनेरे सोध्थे। थारै पनि आफ्नो देशबारे भन्न पाएकोमा खुसी छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४