सुर्खेत- सुर्खेतका व्यापारीहरुको छाता संस्था सुर्खेत उद्योग वाणिज्य संघको चुनावले पार्टीभित्र विभाजन ल्याएको छ। कांग्रेस समर्थित व्यवसायिको बाहुल्यता रहेको संघको आगामी नेतृत्वको लागि कांग्रेस समर्थित व्यवसायिहरु नै विभाजित भएका छन्।
त्यस्तै नेकपा समर्थित व्यापारीहरु पनि दुई धारमा विभाजित भएका छन्। रौचक कुरा त के छ भने पार्टीभित्र एउटै धारमा रहेका धन बहादुर रावत र प्रकाश उप्रेति आगामी नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन्। त्यस्तै नेकपा समर्थित व्यवसायिहरु पनि पूर्व एमाले र पूर्व माओवादी दुई धारमा विभाजित भएका छन्।
सहमतिमै नेतृत्व चयन गर्ने प्रयास अन्तिम समयमा आएर विफल भएको छ। नेतृत्वका लागि आज ४ बजे दुबै आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेस समर्थित व्यवसायीहरु विभाजन बनेर चुनावी मैदानमा उत्रिएपछि त्यसको केही फाइदा भने नेकपा समर्थिक व्यापारीहरुले लिने देखिएको छ । यस अघि संघमा नेकपा निकट व्यवसायीहरुको प्रतिनिधित्व सुन्य रहेको थियो।
आगामी २९ गते हुने चुनावमा संघका वर्तमान कार्यसमिति र पूर्व अध्यक्षहरु पनि विभाजित भएका छन्। संघका पूर्व अध्यक्ष टेक बहादुर भण्डारी र वर्तमान कार्यसमितिका उद्योग उपाध्यक्ष बासुदेव शर्मा, महासचिव गोपाल गिरीसहितका केही पदाधिकारी रावतको पक्षमा देखिएका छन्।
त्यस्तै संघका वर्तमान अध्यक्ष प्रकाश अधिकारी, पूर्व अध्यक्षहरु निरक केसी, पदम बहादुर शाही, विष्णुबहादुर शाही लगायतका उप्रेतीलाई पक्षमा लागेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४