काठमाडौं- नेपाल वायुसेवा निगमले खरिद गरेको २ वटा बाइड बडी विमान खरिद प्रक्रियामा भएको अनियमितताका विषयमा छानबिन गर्न संसद्को सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको छ।
लेखा समितिको बुधबार दिउँसो बसेको बैठकले सांसद राजन केसीको संयोजकत्वमा सात सदस्यीय छानबिन उपसमिति गठन गरको हो। समितिलाई १५ दिनभित्र खरिद प्रक्रियामा भएको अनियमितताको आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ।
संस्कृति, पर्यटन तथा नागारिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र निगमका पदाधिकारीसँगको छलफलबाट समेत विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनबमोजिमको प्रक्रिया नअपनाएको पाएपछि समितिले विस्तुत अध्ययन गरी प्रतिवेदन बुझाउन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो।
उपसमितिमा कृष्णलाल महर्जन, चन्दा चौधरी, प्रदीप यादव, प्रेम आले, धर्मशिला चापागाईं र मीना सुब्बा छन्। महालेखा परीक्षकको प्रतिवेदनले समेत वाइड बडी दुईवटा विमान खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनबमोजिम नभएको जनाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४