जनकपुरधाम- उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रदेश २ सरकारले आयोजना गरेका सम्मान तथा दिवा भोजमा सहभागी भएका छन्। रामजानकी विवाहोत्सवमा सहभागी हुन जनकपुर पुगेका मुख्यमन्त्री योगीको सम्मानमा प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय (मधेश भवन) मा दिवा भोजको कार्यक्रम राखेको थियो।
जानकी मन्दिरमा पूजाअर्चना पश्चात योगी मधेश भवन पुगेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय परिसरमा योगीलाई मिथिला परम्परा अनुसार सम्मान गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन्।
सम्मान कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, संघीय सरकारका मन्त्री रविन्द्र अधिकारी, प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्री, प्रदेश सभामुख तथा उपसभामुख, प्रदेश सांसद, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, राजपा अध्यक्षमण्डलका सदस्य लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो। योगीको सम्मान कार्यक्रममा प्रदेश सरकारले मैथिली गीत संगीत पस्केर स्वागत गरेको थियो।
सम्मान कार्यक्रमपछि योगी प्रदेश सरकारले आयोजना गरेका दिवा भोजमा सहभागी भए । प्रदेश सरकारले योगीसहित अयोध्याबाट जन्तीको रुपमा पुगेका एक हजारभन्दा बढी विशिष्ट अतिथिहरुका लागि दिवा भोजको आयोजना गरेको थियो । योगीको सम्मानमा आयोजना गरिएको दिवा भोजमा ५६ प्रकारका व्यञ्जन तयार पारिएको कानुनमन्त्री यादवले जनाएका छन्।
यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा योगीले प्रदेश २ का मुख्यमन्त्री राउत लगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए।
यस अवसरमा राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, निवर्तमान संयोजक महन्त ठाकुर, अध्यक्षमण्डलका सदस्य अनिल झा, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
'जनकपुर भ्रमण गरेर धन्य भएको छु'
जनकपुरधाम- भारत उत्तर प्रदेशका मुख्यमन्त्रीय योगी आदित्यनाथले जनकपुर भ्रमण गरेर आफू धन्य भएको उल्लेख गरेका छन् । विदेहराज महाराज जनकको भूमिमा यात्रा गर्ने अवसर पाएकोमा आफू धन्य भएको उनले बताएका छन् ।
जानकी मन्दिरमा पूजाअर्चनापछि उनले लेखेको विशेष नोटमा योगीले लेखेका छन्,‘भगवान राम र माता सीताको जीवन दुई मुलुकबीचको धर्म, संस्कृति र सभ्यताका अभिन्न अंग हुन । उहाँहरुले पालन गरेको आदर्श र मूल्य सार्वभौम छन् र हामी सबैलाई प्रेरणा प्रदान गर्दै आइरहेका छन् ।’
यसका साथै आफूसहित भ्रमणमा आएका प्रतिनिधिमण्डललाई भव्य स्वागत गरेको भन्दै मुख्यमन्त्री योगीले नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद ज्ञापन गरेका छन् । योगीले लेखेको नोटमा भारत सरकार र त्यहाँका जनताको तर्फबाट नेपाली नागरिकलाई शुभकामनाका साथै सुख र समृद्धिको कामना गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४