काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तरगत बुधबार भएाके खेलमा विराटनगर वारियर्सलाई पराजित गर्दै भैरहवा ग्ल्याडीयटर्स इपिएलको प्ले अफमा प्रवेश गरेको छ । त्रिवि मैदानमा भएको खेलमा भैरहवाले विराटनगरलाई ४ विकेटले पराजित गर्दै दुई खेल अगावै प्ले अफमा प्रवेश गरेको हो ।
विराटनगरले दिएको ९२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भैरहवाले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । रोहित ७ र मोहम्मद नाविद ३ रनमा नट आउट रहे । भैरहवाको जितमा रायन टेन डेस्काटे २०, प्रदीप ऐरी १०, शरद भेषवाकर १६ र रभिइन्दर सिंह १२ रन बनाए ।
सामान्य लक्ष्य पक्ष्याएको भैरहवाले सुस्त गतिमा ब्याटिङ गरेको थियो । पहिलो विकेटका लागि ओपनर प्रदीप ऐरी र शेर मल्लले २१ रनको साभेदारी गर्दै मध्यम सूरुवात दिलाएका थिए ।
४.४ ओभरमा रोलफ भान डर मर्वले प्रदीप ऐरीलाई १० रनमा बोल्ड आउट गर्दै विराटनगरलाई पहिलो सफलता दिलाए । लगतै अर्को ओभरमा पल भान मिकरेनलेले मल्ललाई ७ रनमा आउट गरे । विराटनगरका लागि मर्वले २ र मिकरेनले, बसन्त रेग्मी, करण केसी र रनिव क्षेत्रीले समान एक विकेट लिएपनि टिमको हार टार्न भने सकेनन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १८.४ ओभरमा सबै विकेट गुमाएर मात्र ९१ रन बनाउन सकेको थियो । विराटनगरका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
विराटनगरका लागि करण केसी १८, रोलफ भान डर मर्व २५, समित महर्जन १५ र हरि चौरानले १३ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्समयानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भैरहवाका लागि मोहम्मद नविदले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । त्यस्तै कृष्ण कार्की र अभिनाश बोहराले समान दुई विकेट लिदा शरद भेषवाकर र रायन टेन डेस्काटेले पनि एक एक विकेट लिए ।
भैरहवाले अव बाँकी दुबै खेलमा पराजित भएपनि प्ले अफमा पुग्ने छ तर कुन स्थानमा रहेर भन्ने बाँकी खेलको नतिजामा भर पर्ने छ । पोखरा राइनोज र चितवन राइनोजले लगातार तीन खेलमा पराजित भएको कारण भैरहवा दुई खेल अगावै प्ले अफमा पुगेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४