जनकपुरधाम- उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् । रामजानकी विवाहोत्सवमा सहभागी हुन बुधबार जनकपुर पुगेका योगी विमानस्थलबाट सोझै जानकी मन्दिर पुगेका थिए ।
जानकी मन्दिरमा मुख्यमन्त्री योगीले करिब ३० मिनेट पूजाअर्चना गरेका थिए । जानकी मन्दिरको पूजा पश्चात प्रदेश सरकारले उनको सम्मानमा आयोजना गरेको दिवा भोजमा सरिक हुन् मधेस भवन पुगेका छन् । दिवा भोज तथा भेटघाट कार्यक्रमका लागि योगी दुई घण्टा मधेस भवनमा बस्ने छन् । मधेस भवनको कार्यक्रम सकिए लगत्तै दुई बजे रंगभूमि मैदानमा आयोजना हुने रामजानकी स्वयंभरमा उनी सहभागी हुनेछन् ।
मुख्यमन्त्री योगीलाई जानकी मन्दिरमा मन्दिरका छोटे महन्त रामरोशन दास, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी, नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी, कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादवलगायतका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।
योगीलाई स्वागत गर्न जानकी मन्दिर पुगेका कांग्रेस उपसभापति निधिले योगीको जनकपुर भ्रमणबाट धार्मिक र सांस्कृति पर्यटनमा टेवा पुग्ने प्रतिक्रिया दिएका छन् । योगीको जनकपुर भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्ने उनको भनाइ थियो ।
२०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफू शिक्षामन्त्री रहेको बेला रामजानकी विवाहोत्सवको अवसरमा भारतको अयोध्याबाट औपचारिक रुपमा जन्ती बोलाउने परम्पराको थालनी गराएको बताउँदै निधिले अतिथिलाई स्वागत गर्नु मिथिलाको परम्परा रहेको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४