जनकपुरधाम- भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आज बुधबार जनकपुर आउँदैछन् । रामजानकी विवाहोत्सव समारोहमा सहभागी हुन् योगी जनकपुर आउन लागेका हुन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगीको अहिले बिहान साढे १० बजे जनकपुर आउने कार्यक्रम रहेको बताइएको छ । उत्तर प्रदेशको लखनउबाट जनकपुर आउन लागेका योगीको निजी विमान एक घण्टाको यात्रा तय गरेर साढे १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने बुझिएको छ ।
योगीलाई जनकपुर विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीमण्डलका सदस्य एवं सभामुख तथा उपसभामुखको टोलीले स्वागत गर्ने कार्यक्रम रहेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।
विमानस्थलमा अवतरण गरिसकेपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगीको सोझै जानकी मन्दिर पुगेर पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ । जानकी मन्दिरमा पूजाअर्चना गरिसकेपछि उनी प्रदेश सरकारले आयोजना गरेको दिवा भोजमा सरिक हुनेछन् ।
प्रदेश २ सरकारले योगीको सम्मानमा मधेश भवनमा दिवा भोजको आयोजना गरेको हो । दिवा भोजमा योगीसहित करिब १ हजार ५ सय साधुसन्तसमेत सहभागी हुने बताइएको छ । योगीको सम्मानमा आयोजना गरिने दिवा भोजमा प्रदेश सरकारले ५६ प्रकारको व्यन्जनको व्यवस्था गरेको कानुनमन्त्री यादवले बताएका छन् ।
मधेश भवनमा प्रदेश सरकारले योगीको सम्मानमा मिथिला संस्कृति झल्किने सांगीतिक कार्यक्रमको समेत आयोजना गरेको छ । सांस्कृतिक कार्यक्रममा मैथिली क्षेत्रका चर्चित कालाकार शारदा सिन्हा, सुनिल मल्लिक र मैथिली ठाकुरले प्रस्तुति गर्ने बताइएको छ ।
मधेश भवनको कार्यक्रमपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगीे रंगभूमि मैदानमा आयोजना हुने रामजानकीको स्यंभर कार्यक्रममा सहभागी हुनेछन् । करिब एक घण्टासम्म चल्ने स्वयंभर कार्यक्रममा सहभागी भइसकेपछि योगीको साँझ पौने ६ बजे लखनउ फर्किने कार्यक्रम रहेको बताइएको छ ।
योगीको सुरक्षामा ४ हजार सुरक्षाकर्मी परिचालन
योगी जनकपुर आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । उनको सुरक्षाका लागि र विवाहमहोत्सवमा सहभागी हुने भक्तजनलाई लक्षित गरि चार हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
योगीको सुरक्षामा तीन हजार नेपाल प्रहरी, एक हजार सशस्त्र प्रहरी, एक सय राष्ट्रिय अनुसन्धानका कर्मचारी र रिजर्भमा केही संख्यामा नेपाली सेना खटाइएको छ । ‘ड्रोन क्यामरा’बाट पनि सुरक्षा निगरानी हुनेछ । विस्फोटक पदार्थ चेकजाँचका लागि तालिमप्राप्त तीन कुकुर खटाइएको प्रदेश प्रहरीले जनाएको छ ।
सुरक्षा स्रोतका अनुसार योगीको सुरक्षाका लागि भारतबाट पनि २५ देखि ३० जनाको संख्यामा सुरक्षाकर्मी आएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४