काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा बुधबार दुई खेल हुँदैछ । इपीएल अन्तर्गत बुधबार भैरहवा ग्लाडीयटर्स र विराटनगर वारियर्स तथा काठमाडौं किङस इलाभेन र ललितपुर प्याट्रीयट्सबीचको खेल हुदैछ ।
त्रिवि क्रिकेट मैदानमा शरद भेषावकरको भैरहवा र पारस खड्काको विराटनगरबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । जारी लिगमा दुई टोली अपराजित रहेका छन् । दुई खेलमा ४ अंक जोडेको भैरहवा दोस्रो र समान अंकसहित विराटनगर तेस्रो स्थानमा छ ।
पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई सुपर ओभरमा हराएको थियो ।
तेस्रो खेलका लागि मैदान उत्रदा दुवै टोलीले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । यस्तोमा दुई टोलीबीचको खेल रोमान्चक हुने देखिएको छ । दुई टोली गत बर्षको फाइनलिस्ट समेत हो ।
यस्तै बुधबार हुने दोस्रो खेलमा सोमपाल कामीको काठमाडौंविरुद्ध शीर्ष स्थानको ललितपुरले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल अपरान्ह १ बजे सुरु हुनेछ ।
यस खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरको यो चौथो खेल हो । ललितपुरले ३ खेलबाट ४ अंक जोडेको छ । यस खेलमा जित निकाले ललितपुर अर्को चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ ।
पहिलो खेलमा विराटनगरसँग पराजित ललितपुरले दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो । यता, काठमाडौंको भने यो दोस्रो खेल हो । काठमाडौंले पहिलो खेलमा चितवनलाई हराएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४