काठमडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको नयाँ पत्रिकाले 'नेपाल भारत प्रबुद्ध समुहको प्रतिवेदन मोदीलाई अस्वीकार्य' शीर्षकमा मुख्य समाचार छापेको छ । मोदीका सुरक्षा सल्लाहकार अजित डोभालको असहमतिपछि इपिजी प्रतिवेदन अलपत्र परेको समाचारमा उल्लेख छ । भारतले नेपालमै फरक मत रहेकाले हामी किन हतार गर्ने भन्ने अनौठो तर्क गरेको नयाँ पत्रिकाले लेखेको छ ।
नागरिक दैनिकले भने मन्त्रीहरुले संसदीय समितिहरुको बैठक छल्ने गरेको विषय र भारतीय उच्च नेताहरुको जनकपुर मोह बढेको विषयलाई मुख्य समाचार बनाएको छ । आगामी चुनावमा भारतीय हिन्दुको झुकाव आफूतिर तान्न भाजपाका नेताले जनकपुरलाई उपयोग गरेको समाचारमा उल्लेख छ । पछिल्लो दुई वर्षमा प्रमुख तीन नेताको भ्रमण भएको छ ।
९ लाख कम्पनीको अनुगम गर्न जम्मा ८२ जना मात्रै प्राविधिक रहेको विषयलाई एङ्कर न्यूज बनाएको आजको कान्तिपुर दैनिकले भारतमा भएको विधानसभा चुनावमा भाजपालाई नराम्रो धक्का लागेको विषयलाई मुख्य समाचार बनाएको छ । भारपालाई पछि पार्दै काँग्रेस आईले पाँच राज्यमा आफ्नो पकड जमाएको छ।
यस्तै आजको अन्नपूर्ण पोस्ट्ले प्रधानमन्त्री केपी ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले आफै प्रधानमन्त्री जसरी खटन पटन गर्ने गरेको खबर लेखेको छ। उसले सिंहदरबारका छाया शासक बनेका रिमालको दबदबा सरकारदेखि प्रशासनसम्म रहेको उल्लेख गरेको छ।
नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन मोदीलाई अस्वीकार्य
नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले पाँच महिनाअघि तयार गरेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अझै बुझाउन सकेको छैन । प्रतिवेदनप्रति असन्तुष्ट मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले इपिजी टोलीलाई प्रधानमन्त्रीसँग भेटको समय नै मिलाउन दिएका छैनन् ।
१९५० को नेपाल–भारत मैत्री सन्धिबाट भारतभन्दा नेपाल लाभान्वित भएको र अहिले इपिजीको प्रतिवेदनले भारतलाई समस्या तथा नेपाललाई थप लाभ हुने डोभालको निष्कर्ष छ । इपिजीको भारत पक्षका संयोजक भगतसिंह कोस्यारीले मोदीसँग भेटघाटको समय मिलाउन कोसिस गरिरहेका छन् ।
तर, प्रतिवेदन नसच्याए प्रधानमन्त्री मोदीले नबुझ्ने डोभालको भनाइपछि इपिजी अनिर्णयको बन्दी भएको छ । नेपाली पक्ष भने मोदीको समय पर्खेर बसेको छ । इपिजीको म्याद गत असारमै सकिएको हो । एकपटक सैद्धान्तिक सहमति भइसकेको प्रतिवेदन सच्याउन सम्भव छैन । त्यसबारे भारतीय पक्षले नेपाली पक्षलाई वास्तविकता जानकारी गराएको पनि छैन ।
‘हामीले काम सकेका छौँ, प्रतिवेदन तयार छ र इपिजीको कार्यकाल सकिइसकेको अवस्था छ,’ इपिजी भारततर्फका सदस्य डा. महेन्द्र पी लामाले भने, ‘कहिलेकाहीँ सरकारी प्र्रतिवेदन बुझ्ने सरकारी प्रक्रिया लामो हुन्छ, तर अहिले भइरहेको ढिलाइको कारणबारे म जानकार छैन ।’ इपिजीको नेपालतर्फका सदस्य डा. राजन भट्टराईले प्रतिवेदन सहमतिमै तयार भएको र सच्याउन भारतीय पक्षबाट औपचारिक सुझाब नआएको बताए ।
भारतीय नेताकाे जनकपुर माेह, दुई वर्षमा प्रमुख तीन भ्रमण
आजको नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार पछिल्लो दुई वर्षयता जनकपुरमा भारतका तर्फबाट तीनपटक प्रमुख भ्रमण हुँदैछ।
२०७३ कात्तिकमा राष्ट्रपति प्रणव मुखर्जीले जनकपुर भ्रमण गरेका थिए। एक वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट सोझै जनकपुर उत्रिए। मोदी आएको एक वर्ष नपुग्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार लखनउबाट जनकपुर आउँदैछन्।
मुलुक संघीयतामा गएपछि मधेसको राजधानी (प्रदेश मुकाम) जनकपुर केन्द्रित भएर छिमेकी मुलुकबाट उच्चस्तरीय भ्रमण भइरहेपछि राजनीतिक वृत्तमा त्यसको चर्चाको हुन थालेको छ। दुई वर्षभित्र प्रमुख तीनवटा भ्रमण हुनुको पछाडि भारतीय पक्षको के स्वार्थ होला ? उनीहरूको भ्रमणले मधेसको राजनीतिमा कस्तो असर पार्ला ? भन्ने प्रश्नहरू अनुत्तरित छन्।
मधेस मामिलामा कलम चलाउँदै आएका चन्द्रकिशोर भन्छन्, ‘पछिल्लो प्रमुख तीन भ्रमणले भारतको मधेसप्रति मोह बढेको भन्न मिल्दैन। जनकपुरप्रति आस्था भने अवश्य हो।’ भारतमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार छ। भारतले नयाँ नेतृत्व चयन गर्न अगामी वर्ष चुनाव गर्दैछ। उक्त चुनावमा भाजपाका पक्षमा सीमा जोडिएको बिहारको जनमत आकर्षण गर्न मोदी र योगीले जनकपुर भ्रमण गरेको हुन सक्ने उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४