काठमाडौं- मंगलबार साँझ बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएपछि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य वार्ता भएको छ।
ओली र प्रचण्डबीचको वार्ता प्रधानन्यायाधीशको सिफारिशमा केन्द्रित रहेको बुझिएको छ। यसअघि संवैधानिक परिषदबाट सिफारिस भएर पनि संसदीय समितिबाट अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई छोटो अवसर दिने पक्षमा छलफल भएको स्रोतले बताएको छ। जोशीको पक्षमा निर्णय गराउनका लागि अनुकुल वातावरण तयार गर्ने रणनीति अनुसार ओलीले प्रचण्डलाई गोप्य छलफलमा डाकेको श्रोतको दाबी छ।
संवैधानिक परिषद बैठकमा सहभागी हुनका लागि सबै सदस्यहरु बालुवटार पुगेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेर चिया पिएर फर्केको स्रोतले बतायो। सबै सदस्यहरु सहभागी हुँदा बैठक नबस्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। बैठक स्थगित भएको सन्देश दिन लगाएर ओली प्रचण्डसँगको गोप्य वार्तामा बसेका थिए।
यसपटक पनि प्रधानन्यायाधीशको स्वभाविक रोलक्रमको पहिलो नम्बरमा जोशी छन्। संसदीय सुनुवाइमा अस्वीकृत भए पनि उनीमाथि कुनै अभियोग लागेर पुष्टि भएको छैन। उनले वरिष्ठ न्यायाधीशकै हैसियतमा काम गरिरहेका छन्।
जोशीको नाम सिफारिश गरेर पठाउँदा संसदीय समितिबाट फेरि अस्वीकृत हुन सक्ने सम्भावना रहेकोले रणनीतिक रुपमा संवैधानिक परिषद्को बैठक पटक-पटक स्थगित गरेर सिफारिस निर्णयमा ढिलाई गरिएको छ। जोशीलाई अवसर दिनका लागि दुईवटा विकल्पका बारेमा छलफल भइरहेको छ।
संवैधानिक परिषद्बाट सिफारिसमा ढिलाई गरेर पुष १७ गते जोशीलाई कामु प्रधानन्यायाधीसको रुपमा केही समय काम गर्न दिने एउटा विकल्प छ भने अर्को विकल्प संसदीय सुनुवाइ समितिलाई पुरानो निर्णय सच्याएर जोशीको पक्षमा नयाँ निर्णय गर्न शीर्ष तहबाट दबाब दिने तथा प्रभावित गर्ने रणनितिका बारेमा छलफल भइरहेको छ।
नेपाली कांग्रेसले पहिले देखि नै जोशीलाई अवसर दिनुपर्ने अडान लिंदै आएको छ। प्रधानमन्त्री ओली पनि यसमा नकारात्मक छैनन्। तर, संसदीय समितिको नेतृत्व गरिरहेका योगेश भट्टराराई भने अस्वीकृत भएको पात्र नै फेरि सिफारिश भए मान्ने नहुने चेतावनी दिइसकेकोले ओलीले सभापति योगेशलगायत निर्णायक भूमिका खेल्ने प्रभावशाली सदस्यहरुसँग व्यक्तिगत रुपमा परामर्शसमेत गरिरहेका छन्। चोलेन्द्र झन्डै साढे चार वर्ष प्रधानन्यायाधीश हुने भएकोले केही समय जोशीलाई अवसर दिनुपर्ने पक्षमा पहल भइरहेको छ।
वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १७ गतेदेखि सकिँदै छ। प्रधानन्यायाधीशको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि परिषद्ले अहिलेसम्म नाम टुंगो लगाउन सकेको छैन।
न्याय परिषद्ले वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको छ। यसअघि संवैधानिक परिषदले सिफारिस गरे पनि जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएको थियो।
मंगलबा तेस्रो पटक संवैधानिक परिषद्को बैठक स्थगित भएको हो। मंसिर १७ गते बोलाइएको संवैधानिक परिषद्को बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको थियो। नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आन्तरिक परामर्श र छलफलका लागि थप समय मागेपछि बैठक स्थगित गरिएको हो। गत मंसिर २२ गते बोलाइएको बैठक पनि एकछिन बसेर स्थगित भएको थियो।
प्रधानन्यायाधीशमा जोशीको सिफारिसलाई उल्टाएपछि कांग्रेसले त्यो निर्णय प्रक्रिया नै बहिष्कार गरेको थियो। बहुमतको आडमा संवैधानिक निकायलाई आफ्नो प्रभावमा राख्न खाजेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।यसपटक पनि सत्तापक्षको चाहनाअनुसार प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई सहज रुपमा अघि बढ्न नदिने रणनीतिमा कांग्रेस छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४