जनकपुरधाम- रामजानकी विवाहोत्सवमा सहभागी हुने तिर्थालुहरुको जनकपुरमा घुइँचो लागेको छ। विवाहोत्सव अन्तर्गत बुधबार हुने प्रमुख समारोहभन्दा एक दिनअघि नै जनकपुर तिर्थालुहरुले भरिभराउ भएको छ।
विशेषतः विवाहोत्सव हुने प्रमुख स्थान जानकी मन्दिर र रंगभूमि क्षेत्रमा ठुलो संख्यामा तिर्थालुहरुको भिड लागेको छ। विवाहोत्सवमा सहभागी हुन भारत तथा नेपालका विभिन्न स्थानबाट तिर्थालुहरु जनकपुर पुगेका छन्।
विवाहोत्सव भन्दा एक दिनअघि देखिएकोे भिडले प्रमुख समारोहका दिन थप तिर्थालुको घुइँचो रहने अनुमान गरिएको छ। यस वर्ष राम जानकी विवाह पञ्चमीका दिन नेपाल तथा भारतबाट दश लाख तिर्थालु पुग्ने आकलन जानकी मन्दिरले गरेको छ।
विवाहोत्सवमा सहभागी हुने तिर्थालुहरु महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट जनकपुर पुगिरहेका छन्। तिर्थालुहरुको चापलाई ध्यानमा राख्दै जनकपुर अञ्चल बस व्यवसायी संघले जलेश्वर र जटही सडक खण्डमा गुड्ने बसहरुको ‘क्यू’ दुई दिनको लागि अन्त्य गरेको छ। तिर्थालुहरुको अत्याधिक चापका कारण समय तालिका तोडेर बसहरु गुडिरहेको जनकपुर अञ्चल बस व्यवासायी संघका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।
अध्यक्ष चौधरीका अनुसार गत वर्षको तुलनामा ३० प्रतिशत धेरै तिर्थालु विवाहोत्सवमा सहभागी हुन जनकपुर पुगिरहेका छन्। उनले विगतका वर्षहरुमा भारतको विहार राज्यबाट धेरै तिर्थालु आउने गरेपनि यस वर्ष उत्तर प्रदेशबाट समेत तिर्थालु आएकाले घुइँचो बढेको जानकारी दिए।
‘विगतका वर्षहरु झैँ विहारबाट आउने तिर्थालु त आएकै छन्,’ उनले भने,‘तर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएपछि, त्यहाँबाट आउने तिर्थालु थपिएका छन्।’
विवाहोत्सवमा जनकपुर पुग्ने प्रमुख नाका महोत्तरीको भिठ्ठामोड र धनुषाको जटहीसम्म प्रत्येक १० मिनेटमा यात्रुबाहक बस गुडिरहेको बताउँदै चौधरीले हरेक बसमा ५०÷६० जना तिर्थालु आइरहेको जानकारी दिए। अन्य दिन ती सडक खण्डहरुमा साँझ ८ बजेसम्म मात्र बस गुड्दै आएपनि विवाहोत्सवलाई मध्यनजर गरी तिर्थालु आउन्जेलसम्म बस चलाउने तयारी रहेको उनले बताए।
यसका साथै भारतका विभिन्न स्थानबाट रिजर्व बस, निजी गाडीलगायतका साधन प्रयोग गरी हजारौंको संख्यामा तिर्थालु जनकपुर पुग्ने क्रम जारी छ। भारतबाट आउने तिर्थालुहरुको गाडीलाई ट्राफिक प्रहरीले नगर क्षेत्रभित्र प्रवेश दिएको छैन्। तिर्थालुका रिजर्व र निजी गाडीहरु जनकपुर प्रवेश गर्ने नाकामा पार्किङको व्यवस्था गरिएको छ।
तिर्थालुलाई पण्डालमा वास
रामजानकी विवाहोत्सवमा सहभागी हुन आउने तिर्थालुको संख्या धेरै भएपछि जनकपुरस्थित होटल, लज र धर्मशालाको संख्या कम परेको छ। यहाँ उपलब्ध होटल, लज र धर्मशालाहरुमा तिर्थालु नअटाउने भएपछि सरोकारबलाहरुले वासका लागि ठाउँठाउँमा पण्डाल (टेन्ट) गाडेर व्यवस्थापन गरेका छन्।
नेपाली सेनाले रंगभूमि मैदानमा ठुलो पण्डाल लगाएर तिर्थालुहरुका लागि वासको व्यवस्था गरेको छ। पण्डालमा एक हजारभन्दा बढी तिर्थालु अटाउने गरी नेपाली सेनाले वासको व्यवस्था गरेको छ। यसैगरी जनकपुरधाम उपमहानगरपालिकाले तिरहुतिया गाछीमा पण्डाल लगाएको छ।
यसका साथै निजीस्तरबाट समेत तिर्थालुहरुलाई वास दिन जनकपुरका विभिन्न ठाउँमा पण्डाल लगाइएको छ। यसका साथै जनकपुरको विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालनमा ल्याइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४