जनकपुरधाम - भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेर जनकपुर आउने विमानको परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ। रामजानकी विवाहोत्सवमा सरिक हुन् जनकपुर आउनभन्दा एक दिनअघि मंगलबार भारतीय विमानको परीक्षण गरिएको हो।
बिहान उत्तर प्रदेशको राजधानी लखनउबाट उडान भरेको भारतीय विमान जनकपुर विमानस्थलमा १० बजेर १९ मिनेटमा अवतरण गरेको थियो। ९ जना यात्रु बोक्ने क्षमता रहेको बीई २०० नामक भारतीय कम्पनीको विमान जनकपुर विमानस्थलमा अवतरण भएको केहि बेरपछि पुनः लखनउ फर्किएको थियो।
बुधबार पनि १०:१५ मा योगी चढेर आउने यो विमान जनकपुर विमानस्थलमा अवतरण गर्ने बताइएको छ। जनकपुर अवतरण गरेको करिब ६ घण्टाको जनकपुर बसाइपछि साँझ ५:४५ मा लखनउको लागि विमान उडने बताइएको छ।
‘भारतका उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ बुधबार जनकपुर आउने कार्यक्रम छ,’ जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले नेपाल समयलाई भने,‘उहाँ आउन एक दिनअघि विमानको परीक्षण गरिएको छ। विमानको सफल परीक्षण भएको छ।’
तीनजना चालक दलसहित जनकपुर आएको विमानका चालक दलले रन-वेको लम्बाई, ले-आउटजस्ता सुविधाहरु बारे परीक्षण गरेको ढकालले बताए। जनकपुर विमानस्थलको व्यवस्थाबाट विमानका चालक दलका सदस्यहरु सन्तुष्ट भएर फर्किएको उनको भनाइ थियो। ढकालका अनुसार लखनउबाट जनकपुर पुग्न विमानलाई करिब एक घण्टाको समय लागेको थियो।
बुधबार विमानबाट चारजना चालक दलक सदस्य र मुख्यमन्त्री योगीसहितको पाँचजना प्रतिनिधिमण्डल जनकपुर पुग्ने बताइएको छ। नेपाल उड्डयन प्राधिकरणबाट दुई दिनको अनुमति लिएर भारतीय विमानले उडान भरेको विमानस्थल प्रमुख ढकालले जानकारी दिए। योगीको विमान जनकपुर अवतरण गर्ने भएकोले जनकपुर-काठमाण्डौंको नियमित उडानको समय तालिका हेरफेर हुनसक्ने उनले बताए।
भारतबाटै कारगेट
उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुर आउने भएपछि विमानस्थल देखि उनी भ्रमण गर्ने जनकपुरको हरेक स्थानको सुरक्षा व्यवस्था कडा बनाइएको छ। विमानस्थल प्रमुख ढकालका अनुसार विमानस्थलको सुरक्षा व्यवस्था जिल्ला सुरक्षा समितिले बनाए अनुसार नै रहने छ।
मुख्यमन्त्री योगीका लागि कारगेट भारत सरकारले उपलब्ध गराएको बताइएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रवीण कणेलका अनुसार योगीका लागि एउटा बुलेट प्रुफ कार भारत सरकार र अर्को नेपाल सरकरले उपलब्ध गराएको छ। विवाहोत्सवमा सहभागी हुन आउने भएपछि उनका सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीसमेत जनकपुर पुगेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४