काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत भदौ दोस्रो साता आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिए। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई चोरको संज्ञासमेत दिएका थिए।
त्यही स्टाटसका कारण प्रधानमन्त्री प्रचण्ड र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेयर शाहलाई पक्राउ गर्ने तयारी गरेका थिए। तर गठबन्धनमा सहमति नजुट्दा उनी पक्राउ पर्नबाट जोगिए।
यो कुराको खुलासा सात महिनापछि जनमत पार्टीका अध्यक्ष सिके राउतले गरेका हुन्। सोमबार राति कान्तिपुर टेलिभिजनमा प्रशारित 'फायरसाइड' कार्यक्रममा राउतले त्यति बेला मेयर शाहलाई पक्राउ गर्न प्रचण्ड सरकारले गोप्य बैठक डाकेको बताएका छन्।
'बडो गोप्य तरिकाले बैठक बसेको थियो। एजेन्डा थाहा थिएन। बैठकमा प्रधान सेनापतिदेखि प्रहरी प्रमुख र उपत्यकाका तीनैवटा जिल्ला सिडिओहरू थिए,' उनले अन्तर्वार्तामा भनेका छन्, 'बैठकमा पुगेपछि थाहा पाएँ, काठमाडौंका मेयर बालेन शाहले लेखेको स्टाटसका कारण उनलाई पक्राउ गरौं भनेर बैठक डाकिएको रहेछ।'
सिंहदरबार जलाउने धम्की र सरकारलाई चोरको संज्ञा दिइएकाले रिसाएका प्रचण्डले उक्त बैठकमा राउतसँग सल्लाह मागेका थिए- के गर्ने भनेर। मेयरलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन भनेर आफूले सल्लाह दिएको राउतले बताएका छन्।
'सम्माननीय प्रधानमन्त्रीजीले मलाई के गर्ने भनेर सोध्नुभयो। नयाँले नयाँलाई समर्थन गर्छ भन्ने उहाँलाई लागेको होला। मैले भनेँ, उहाँलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन। उहाँको स्टाटसमा सवा लाखजति कमेन्ट आएका छन्। तीमध्ये ९५ प्रतिशतमा सरकारलाई नै गाली गरिएको छ, उहाँको समर्थन छ। तर उहाँहरूले 'के हामी चोर हौं, हामीलाई यस्तो भन्ने, पक्राउ त गर्नैपर्छ' भन्नुभयो,' राउतले भने।
मेयर शाहलाई पक्राउ गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री प्रचण्ड र पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठको अडान रहेको उनले बताए। भने, 'उहाँहरू जसरी पनि ठोक्नुपर्छ भन्ने भाषा प्रयोग गर्दै हुनुहुन्थ्यो।'
त्यतिबेलाको गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने बालेन शाहलाई पक्रन हुँदैन भन्ने अडान राखेको राउतले खुलाएका छन्। 'लोकतन्त्र छ, यस्तो बोलिराख्छन् भनेर देउवाजीले भन्नुभयो। बोल्दैमा कहाँ आगो लगाइदियो त ! बोल्दैमा के हुन्छ ! बोल्न पाउनुपर्छ भन्ने उहाँको भनाइ थियो,' राउतले भने।
उक्त बैठकमा कांग्रेस सभापति र माओवादी अध्यक्षको फरक विचारबाट आफूले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिबीच फरक देखेको पनि राउतले बताए।
'त्यो दिन मैले पहिलोपटक महसुस गरेँ, लोकतान्त्रिक शक्ति भनेको कस्तो हुन्छ र वामपन्थी शक्ति भनेको कस्तो हुन्छ,' उनले भने, 'दुई जनाको दृष्टिकोण र अभिव्यक्ति नै फरक हुँदो रहेछ।'