काठमाडौं- बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का कारण देशका विभिन्न मुख्य सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार गोरखा र अर्घाखाँचीका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने म्याग्दीको एक सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
नेपाल प्रहरीका अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ मा पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। आज राति २ बजेदेखि सडक अवरुद्ध हुँदा त्यस क्षेत्रमा सवारी आवागमन ठप्प बनेको छ। यस्तै, गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा नयाँपुलस्थित सोतीमा रहेको फलामे पुल र आरुघाटबाट धादिङ जोड्ने सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। असोज २५ गते बिहानदेखि आएको बाढीले उक्त खण्डमा यातायात सेवा रोकिएको प्रहरीले जनाएको छ।
उता म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ। असोज १० गते बिहान पहिरोका कारण प्रभावित बनेको उक्त खण्डमा हाल सवारी साधनहरूलाई एकतर्फी रूपमा आवतजावत गराइएको छ। अवरुद्ध सडकहरू खुलाउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।