काठमाडौं-नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समितिले तयार गरेको राजनीतिक प्रतिवेदन पार्टी केन्द्रीय कार्य समिति बैठकमा पेस भएको छ।
उपसभापति तथा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक निधिले मंगलबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा चालु केन्द्रीय समिति बैठकमा समितिले तयार गरेको प्रतिवेदन पेस गरेका हुन्। अहिले सो राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले बताए।
आगामी शुक्रबार राजधानीमा सुरु हुने पार्टीको महासमिति बैठकमा पेस गर्नका लागि पार्टीले निधिको संयोजकत्वमा राजनीतिक समिति गठन गरेको थियो। महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदनमाथि १३ दिनसम्म भएको छलफलले पनि सहमति जुट्न नसकेपछि आज राजनीतिक प्रतिवेदनमाथिको छलफल सुरु भएको हो।
केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. मिनेन्द्रप्रसाद रिजाल, रमेश लेखकलगायतका नेताहरुसँगको अनौपचारिक छलफल र सहमतिपछि प्रतिवेदन बैठकमा पेश गरिएको हो। केन्द्रीय समितिको बैठकमा यसअघि सहमहामन्त्री डा. प्रकाशशरण महतले पेस गरेको पार्टीको समग्र आर्थिक नीतिसम्बन्धी प्रतिवेदन भने सोमबारको बैठकले पारित गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४