काठमाडौं- दार्चुलामा प्रहरीको नियन्त्रणबाट भागेका एक थुनुवा पक्राउ गर्ने क्रममा प्रहरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पछ्याउने क्रममा सोमबार अपराह्न प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको हो।
थुनुवा पछ्याउने क्रममा चौधरी भीरबाट लडेका थिए। प्रहरी हिरातमा रहेका थुनुवा महाकाली नगरपालिका–१ का उमेश कुँवर हतकडीसहित भागेका थिए। उनलाई पछ्याउने क्रममा प्रहरी जवान चौधरी लडेर गम्भीर घाइते भएका थिए। उनको टाउकोमा चोट लागेकोमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको हो।
हतकडीसहित भागेका कुँवरलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ। महाकाली नदीपारि पुगेका कुँवरलाई भारतीय सुरक्षाकर्मीको समन्वयमा नियन्त्रणमा लिइएको हो।