काठमाडौं- संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले वैकल्पिक गठबन्धन निर्माणको प्रयासलाई निरन्तरता दिँदै मधेश केन्द्रित तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्।
देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका प्रमुख नेता सहभागी छन्। लोसप अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीसँग देउवाले छलफल गरेका हुन्।
छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला पनि सहभागी छन्। छलफल समावेशी लोकतान्त्रिक शक्ति बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमाले, रास्वपा, जसपालगायतका दललाई समेटी नयाँ गठबन्धन निर्माण गरेपछि कांग्रेस सभापति देउवा पनि वैकल्पिक गठबन्धनको प्रयासमा छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत आर्जन गर्न नसक्ने भएकाले अर्को गठबन्धन बनाउनुपर्नेमा देउवा छन्।