काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले निर्मला हत्या प्रकरणलाई लिएर आइजिपीको चर्को आलोचना गरेको विषयलाई मुख्य समाचार बनाएका छन् ।
आइजिपी सर्वेन्द्र खनालसँग संसद्को सुशासन समितिले सोमबार छलफल गर्दै निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भनेर आलोचना गरेका छ। हत्यारा पत्ता लगाउन नसक्ने र सधैँ फर्जी अपराधी देखाउने ? भनेर सांसद्हरुले आलोचना गरेका थिए । सांसदहरुले हत्यारा पत्ता लगाउन नसक्ने भए राजीनामा दिनसमेत अाइजिपीलाई धम्की दिएका थिए ।
जवाफमा आइजिपी खनालले एक रौ पनि गलत नगरेको र गलत गरेको भेटिए संसदमा ल्याएर बर्दी खोल्न चुनौति दिएका थिए ।
यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नागरिक दैनिकले सांसद्द्वारा आइजिपीको चर्को आलोचना शीर्षकमा मुख्य समाचार छापेको छ। नयाँ पत्रिकाले भने प्रमाण होइन बयान खोज्दै प्रहरी शीर्षकमा खबर लेखेको छ।
निर्मला हत्या प्रकरणमा सुरुमा जीवन घर्तीमगर र बीचमा दिलीपसिंह बिष्टले पनि अपराध आफै गरेको बयान दिएका थिए । अहिले पक्राउ परेका प्रदिप र विशाले पनि त्यस्तै बयान दिएका छन् । तर यिनीहरुको पनि डिएनए म्याच हुनेमा प्रहरी आफै ढुक्क देखिदैन् ।
निर्मलाको बलात्कार पछि हत्या भएको रात प्रदिप र विशाल चोरीको आरोपमा प्रहरी हिरासतमा रहेको अनुसन्धानले देखाएको छ । यसरी हिरासतमा भएको मान्छेलाई जबरजस्ति अपराध स्विकार गर्न लगाउन खोज्नु झनै शंकास्पद बनेको नयाँ पत्रिकाले लेखेको छ।
आजको नयाँ पत्रिकाले यो विषय बाहेक जहाज खरिदमा सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रश्न शीर्षकमा अर्को विशेष खबर छापेको छ। प्रदेशको समस्या समाधान गर्न गृहमन्त्रीको नेतृत्वमा कार्यदल बनेको विषयलाई पनि महत्वका साथ प्रकाशित गरेको छ।
नागरिक दैनिकले भने मिडियालाई अंकुश लगाउँदै प्रदेश सरकार शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । यस्तै समायोजन हुने कर्मचारीलाई मुख्यसचिवसम्मै अवसर दिने गरि कर्मचारी समायोजन अध्यादेश जारी गरिएको खबर लेखेको छ ।
राजस्व अनुसन्धान विभागले झन्डै ६ अर्ब कर छलेको अभियोगमा ४२ फर्मविरुद्ध मुद्दा दायर गरेको विषयलाई एङ्कर न्यूज बनाएको आजको कान्तिपुरले झाडिले छोप्यो तिलौराकोट शीर्षकमा मुख्य समाचार छापेको छ । गौतम बुद्धले २९ वर्ष बिताएको दरबार संरक्षणको अभावमा भग्नावशेष बन्दै गएको समाचारमा उल्लेख छ।
आजको अन्नपूर्णले त्रिविको परिक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको भविष्यमाथि गरिरहेको खेलडबाडलाई मुख्य समाचार बनाएको छ। अड्डामा अन्नपूर्ण अभियानअन्तर्गत परिक्षा नियन्त्रण कार्यालय बल्खुमा देखिएको बेथितीलाई उसले प्रस्तुत गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४